हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश, काठमाडौंको आयोजनामा बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।
इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं रहेका थिए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, उच्च अदालत बार एसोसिएसन अध्यक्ष मन प्रसाद भट्टराई, प्रदेश बाल अधिकार समिति सदस्य प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, निवर्तमान अध्यक्ष आरती पाठक, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, जिल्ला बार एसोसिएसनकी निवर्तमान अध्यक्ष अप्सरा बस्नेत, माइती नेपाल कार्यक्रम संयोजक माया तामाङ, हिमराइट्स कार्यक्रम संयोजक कुमारी वाइबा, सिविन प्रबन्धक झविन्द्र ज्ञवाली, एकल महिला समूह अध्यक्ष शारदा चौलागाईं, दलित महिला संघ अध्यक्ष पवित्रा विश्वकर्मा लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकारका विविध चुनौती, कानून कार्यान्वयन, जातीय विभेद, लैङ्गिक हिंसा, बालअधिकार, पर्यावरणीय हक, तथा सङ्क्रमणकालीन न्यायका मुद्दामा प्रभावकारी बहस–पैरवी गर्न नवगठित सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
प्रमुख अतिथि चन्द्रकान्त चापागाईंले महिलाअधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारका क्षेत्रमा सञ्जालले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
इन्सेकका संयोजक शिवप्रसाद खकुरेल तथा प्रलेख अधिकृत बरुण बस्यालले मानव अधिकार अभिलेखन, अनुगमन, सामाजिक परिचालन, शिक्षा तथा नीतिगत पैरवीमा संस्थाको योगदानबारे जानकारी दिँदै आगामी वर्ष प्रदेशभर ५० ओटा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमका सहभागी वक्ताहरू—प्रदेश बाल अधिकार समिति सदस्य प्रकाश खतिवडा र रमिला सापकोटाले मानव अधिकार संरक्षणमा मानव अधिकार रक्षकको भूमिकालाई महत्वपूर्ण बताउँदै सञ्जाललाई प्रभावकारी रूपले सञ्चालन गर्न सुझाव दिए।
२१ सदस्यीय कार्यसमिति गठन
कार्यक्रमले बागमती प्रदेशस्तरमा २१ सदस्यीय नयाँ मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ। नवगठित समितिको संयोजकमा दिपेन्द्र ढकाल चयन भएका छन्।
त्यस्तै सह–संयोजक नातीबाबु धिताल,सचिव सरिता दाहाल,कोषाध्यक्ष अर्जुन श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरूमा रुद्रबहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा विश्वकर्मा, विन्दा कोइराला, कुमारी वाइबा, आश्मा भण्डारी, गोविन्द प्रसाद न्यौपाने, सुमित्रा आचार्य, कवि पौडेल, अविनास प्रजा, अन्जना गिरी, विमला गोपाली, पवन गौतम, आशिष बुढाथोकी, सीता मल्ल र शारदा चौलागाईं चयन भएका छन् ।
त्यसैगरी, भेलाले चन्द्रकान्त चापागाई, कमल कुमार विश्वकर्मा, झविन्द्र ज्ञवाली, प्रकाश खतिवडा र रमिला सापकोटालाई सल्लाहकारमा चयन गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।










