हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्र चौर आधुनिक प्रकाश व्यवस्थाले झनै उज्यालो बन्ने तयारीमा लागेको छ। नेपाल विद्युत प्राधिकरणको सहयोगमा चौर क्षेत्रमा उच्च क्षमताकाे बत्ती जडानको काम सुरु भइसकेको वडाध्यक्ष नविन सिग्देलले जानकारी दिए।
चौरको पूर्वतर्फको मञ्च क्षेत्रमा ८ बत्ती समावेश भएको एकथान हाई–मास्ट जडान भइरहेको छ। त्यस्तै पानी ट्यांकी र भलिबल कोर्ट नजिक ६–६ बत्ती रहने गरी दुई थान मिनी–मास्ट स्थापना भइरहेको छ। यी बत्ती सञ्चालनमा आएपछि चौर क्षेत्रमा रातिको अन्धकार पूर्णरूपमा हट्ने अपेक्षा गरिएको छ।
‘फुटबल, क्रिकेट, भलिबललगायतका खेल अब साँझ–राति पनि सहजै सञ्चालन गर्न सकिन्छ,’ सिग्देलले बताए, ‘यसले सुरक्षा बढाउने छ र स्थानीय चहलपहलमा समेत वृद्धि हुने विश्वास छ।’
विद्युत प्राधिकरणसँगको सहकार्यमा उपमहानगरपालिकाले अन्य शहरी वडाहरूमा पनि उच्च क्षमताकाे प्रकाश उपकरण जडानको कार्य अघि बढाएको जनाएको छ।










