गीतकार किरण खरेल ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८२’बाट सम्मानित हुने

हेटौंडा । वरिष्ठ गीतकार तथा शब्द–सर्जक किरण खरेललाई ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ। हेटौँडामा अवस्थित भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले आगामी १५ माघमा आयोजना हुने विशेष समारोहमार्फत नगद एक लाख रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित खरेललाई सम्मान गर्ने जनाएको छ।

नेपाली संगीत, साहित्य र कलाक्षेत्रका योगदानकर्ता कलाकारहरूलाई सम्मानित गर्दै आएको प्रतिष्ठान ०५९ सालमा स्थापित भएको हो। हेटौँडाका उद्योगी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी माता बिजुलीमाया वनः श्रेष्ठको स्मृतिमा ०६४ सालमा सुरु गरिएको यस पुरस्कारले नेपाली गीत–संगीतको उन्नतिमा टेवा पु¥याउने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्ने परम्परा बसालेको छ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेका अनुसार खरेलले आफ्ना गीतहरूमार्फत नेपाली समाज, संस्कृतिको विविधता र मानवीय भावनालाई प्रभावकारी ढंगले अभिव्यक्त गर्दै आएका कारण यस वर्षको पुरस्कारले उनलाई सम्मानित गर्न लागेको हो।

२०१४ सालमा ‘ए दूरका सितारा’ गीतमार्फत गीत–रचनामा प्रवेश गरेका खरेलले आधुनिक तथा चलचित्रसहित ७०० भन्दा बढी गीत सिर्जना गरेका छन्। विशेषतः चलचित्र माइतीघर का लागि लेखिएका उनका गीतहरूले नेपाली चलचित्र–संगीतको स्वरूप नै परिवर्तन गरेको मानिन्छ। उनले १०० भन्दा बढी चलचित्रका लागि गीत लेखेका छन्।

चार गीत–संग्रह प्रकाशित गरिसकेका खरेल रेडियो नेपाल र तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा कार्यक्रम निर्माता तथा सञ्चालकको भूमिकामा पनि सक्रिय रहे। ‘छिन्नलता गीत पुरस्कार’ सहितका प्रतिष्ठित सम्मान पाइसकेका उनका— माइतीघर…, जिन्दगीलाई जित होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ, मन्दिरमा छ कि मूर्तिमा माया जस्ता गीत आज पनि उस्तै लोकप्रिय छन्।

स्थापना भएको १६ वर्षमा यस पुरस्कारले अम्बर गुरुङदेखि नीर शाहसम्म १६ जना प्रतिष्ठित कलाकारलाई सम्मानित गरिसकेको प्रतिष्ठानले जनाएको छ। यस वर्ष यो सम्मान प्रख्यात गीतकार किरण खरेलले प्राप्त गर्दैछन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.