हेटौंडा । दलित महिला संघ (फेडो) मकवानपुरले हेटौँडामा आयोजित एक कार्यक्रममा २२ वटा दलित महिला समूहलाई अनुदानमा बीउ पुँजी वितरण गरेको छ। आर्थिक रुपमा पछाडि परेका तथा साना उद्यमका लागि पुँजी अभाव झेलिरहेका दलित महिलालाई उद्यमशील बन्न सहयोग पुर्याउने उद्देश्यले फेडोले गत तीन वर्षदेखि निरन्तर रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस वर्ष हेटौँडा उपमहानगरपालिकाका २०, मनहरी गाउँपालिकाका १ र भिमफेदी गाउँपालिकाको १ गरी २२ समूहलाई अनुदान प्रदान गरिएको हो। हेटौँडाका वडा ३, ६, ९, ११ र १५ का पाँच समूहलाई बीउ पुँजी उद्यमशील कोषमार्फत प्रति समूह ६० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको फेडोले जानकारी दिएको छ। बाँकी १७ समूहले भने मिलन कोषमार्फत २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसअघि बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा ५ दलित महिला समूहका ८ सदस्यलाई पनि अनुदान वितरण गरिएको थियो। तीमध्ये ५ सदस्यले जनही ६० हजार तथा ३ सदस्यले २५–२५ हजार रुपैयाँ लिएर सिलाइ–कटाइ लगायतका घरेलु तथा साना उद्यममा लगानी गरिरहेका फेडो मकवानपुरले जनाएको छ।
उपाध्यक्ष सुनिता दर्नालका अनुसार यसपटक पनि समूह तथा सदस्यको आवश्यकता अनुसार अनुदान रकम निर्धारण गरिएको हो। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली, वडा प्रतिनिधिहरू तथा विभिन्न समूहका सदस्यहरूको उपस्थिति रहेको थियो।










