हेटौँडामा सडक विस्तारको तयारी पूरा, मंसिर २० देखि मुख्य बजार क्षेत्रमा सवारी आवागमन पूर्ण बन्द

हेटौंडा । लामो समयदेखि रोकिँदै आएको हेटौँडाको सडक विस्तार प्रक्रिया अन्ततः अघि बढ्ने भएको छ। विस्तारका लागि आवश्यक रेखांकन तथा चिन्हांकन (मार्किङ) कार्य बिहीबारदेखि सुरु भई दुई दिनमै सम्पन्न गरिएको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ।

कार्यालयले हेटौँडा उपमहानगर–१५, रातोमाटेबाट रेखांकन सुरु गरी बुद्धचोक, राप्ती पुल हुँदै चौकीटोलसम्म तथा चौकीटोलदेखि सामरीसम्मको सम्पूर्ण क्षेत्रमा सडक सीमा छुट्याउने काम सकिएको जानकारी प्रमुख गुरुप्रसाद अधिकारीले दिए।

यसअघि सडक विभागले मंसिर ५ गते १५ दिने सार्वजनिक सूचना जारी गरी मुख्य राजमार्गको २५/२५ गज भित्र पर्ने स्थायी तथा अस्थायी संरचना स्वतः हटाउन आग्रह गरेको थियो। मंसिर १९ सम्म स्वेच्छिक रूपमा संरचना नहटाए २० गतेदेखि कानुनी प्रक्रिया अनुसार डोजर परिचालन गरिने चेतावनी समेत दिइएको छ। संरचना हटाउनुपर्ने अवस्थामा लाग्ने सम्पूर्ण खर्च संरचना मालिक स्वयंले बेहोर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ।

मंसिर २० गतेबाट सडक विस्तार कार्य सुरु हुने भएकाले हेटौँडा बजारभित्र सवारी आवागमन पूर्णरूपमा रोक्ने तयारी तीव्र पारिएको छ। महत्वपूर्ण खण्डमा यातायात अवरुद्ध हुने हुँदा विभिन्न बाइपास मार्ग तयारीका लागि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारी तथा प्राविधिक टोलीले चौकीटोलदेखि रातोमाटेसम्मका मार्गहरूको स्थलगत निरीक्षण गरेका हुन्।

बाइपासमार्ग प्रयोगका लागि अत्यावश्यक मर्मत २० गतेअघि पूरा गरिनेछ। काठमाडौं–भैँसेतर्फ जाने सवारीलाई चौकीटोल–राप्ती नदी उकास–त्रिवेणीधाम हुँदै रातोमाटे रुट प्रयोग गराइनेछ। पूर्व–पश्चिम जाने सवारीलाई राप्ती किनार हुँदै रातोमाटे चलाइनेछ भने मदन भण्डारी राजमार्ग र कान्ति लोकपथ हुँदै आउने सवारीलाई कमानेबाट रातोमाटे निस्कने व्यवस्था मिलाइनेछ, जसले बजार क्षेत्रमा प्रवेश पूर्ण रूपमा रोक्नेछ।बजारभित्रका मुख्य सडक विस्तार कार्य एकैसाथ अघि बढ्ने भएकाले वैकल्पिक मार्गलाई प्राथमिकता दिइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.