मानव अधिकार संरक्षणमा योगदान पुर्‍याउने ९ जना व्यक्तित्व सम्मानित

हेटौंडा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित २५औँ संवाद तथा सम्मान कार्यक्रममार्फत मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल समूहका ९ जना संस्थापक लगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरुलाई सम्मान गरिएको छ।

संजालको रजत जयन्ती वर्ष २०८२ को विशेष अवसरमा मानव अधिकार संरक्षण, महिला हिंसा तथा मानव बेचबिखन विरुद्धको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो।

मकवानपुर जिल्लामा महिला आन्दोलन, महिला नेतृत्व विकास, मानव अधिकार संरक्षण र मानव बेचबिखन अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन दीर्घकालीन योगदान पु¥याएको भन्दै सम्मान प्रदान गरिएको थियो।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल समूह मकवानपुरकी संयोजक आरती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भारती पाठक, लक्ष्मी श्रेष्ठ, बिष्णु ओझा, जुनेली श्रेष्ठ, मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा, भगवती पुडासैनी र हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक तथा संजालको निवर्तमान संयोजक कुमारी वाइबालाई सम्मान गरिएको थियो।

स्थापना कालमा ९ वटा संस्थाबाट सुरु भएको संजाल हाल २५ संस्थासँग विस्तार भइसकेको छ। नारी सीप सिर्जना केन्द्र, हिमराइट्स, माइती नेपाल, अस्मिता नेपाल, नारी संरक्षण केन्द्र, जनरल वेफेयर प्रतिष्ठान, बाल कल्याण समाज, सेलर्ड कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रलगायत संस्थाहरू संस्थापक संस्था रहेको कार्यक्रममार्फत जानकारी दिइयो।

कार्यक्रमले महिला हिंसा, लैङ्गिक विभेद, मानव बेचबिखनविरुद्धको संघर्षलाई आगामी दिनमा थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।

कार्यक्रममा गैरसरकारी संस्था मकवानपुरकि अध्यक्ष रमिला सापकोटा लगायत संजालमा आवद्ध सम्पुर्णको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.