लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा हेटौंडा उपमहानगरपालिका–९ मा बढ्दो महिला हिंसा र न्यूनिकरणका उपाय विषयक संयुक्त छलफल कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक बागमती प्रदेश, गैरसरकारी महासंघ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंले मुलुकभर महिला हिंसाका घटना बढ्दै गएको तथ्यांकले देखाएको बताउनुभयो। महिलामाथि हुने हिंसा रोकथामका लागि घर–घरमा सचेतना फैलाउन तथा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै उहाँले दण्डहीनता अन्त्यतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो।
त्यसैगरी गैरसरकारी महासंघ बागमती प्रदेशका अध्यक्ष कमल कुमार विश्वकर्माले समाजमा अझै पनि पीतृसत्तात्मक सोच बलियो रूपमा रहेकोले महिला हिंसा उग्ररूप लिन पुगेको बताउनुभयो। यसलाई न्यूनीकरण गर्न स्थानीय सरकार, सामाजिक संघ–संस्था तथा समुदायबीच समन्वय र सहकार्य अत्यावश्यक रहेको उहाँको भनाइ थियो।
इन्सेक बागमती प्रदेशका संयोजक शिव प्रसाद खकुरेलले इन्सेकको तथ्यांक अनुसार हरेक वर्ष महिलामाथि हुने बलात्कार, घरेलु हिंसा, हत्या लगायतका घटनामा वृद्धि भइरहेको जानकारी गराउनुभयो। सरकारले यी घटनाका न्यूनीकरणका लागि बजेट वृद्धि र प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
पुष्पाञ्जली आमा समूहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका दौरान प्रदेश रक्षक सञ्जालका संयोजक दिपेन्द्र ढकाल, गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, माया पन्थी लगायतले महिला हिंसाको वर्तमान अवस्था, चुनौती तथा न्यूनीकरणका उपायबारे आफ्ना धारणा राख्नुभएको थियो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १५औँ दिनमा आयोजना गरिएको सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्।










