मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ सिस्नेरीपखेरा जंगलमा भरुवा बन्दुक पड्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब २ बजे सिकार खेल्न गएका क्रममा दुर्घटना भएको हो। राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङ दुबै जना आ–आफ्नो भरुवा बन्दुक बोकी जंगलतर्फ गएका थिए।
प्रहरीका अनुसार अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लड्ने क्रममा उनले बोकेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सो गोलि पछाडि हिँडिरहेका सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनास्थलमै दुवै भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनाबारे गोपाल ब्लोनले साँझ ४:४० बजे इलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा खटिई मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
घटनामा संलग्न गोपाल ब्लोनलाई इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।










