ममकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
मंगलबार दिउँसो लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी २२ जना घाइते भएका थिए। घाइतेहरूमध्ये हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अँधेरी बस्ने अन्दाजी ५०/५५ वर्षका केशव माझी रहेका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको थियो र हेटौंडा अस्पतालमा भर्ना हुनासाथ दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, सोही स्थानका अन्दाजी ५०/५५ वर्षकै युवराज माझीको पनि टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई अस्पतालमा भर्ना गरेलगत्तै दिउँसो २ः२६ बजे मृत घोषणा गरिएको हो।
दुर्घटनामा बकैया गाउँपालिका–७ अँधेरीकै अन्दाजी ४५ वर्षका सन्तलाल माझीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूको हेटौंडा अस्पताल तथा चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।










