हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा सोमबार राति करिब ७:३० बजे गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् भने गोठमा रहेका पशुचौपाया जलेर मरेका छन्।
आगलागीमा परेर सोही स्थान बस्ने ४४ वर्षीया कविता सिजाली घाइते भएकी हुन्। आफ्नै घरदेखि करिब २० मिटर दक्षिणतर्फ रहेको काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगलागीका कारण सिजालीको ढाड र टाउकोमा आगोले पोलेको र उनी करिब १८ प्रतिशत जलेको अवस्थामा रहेको डाक्टरले बताएका छन्। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते सिजालीलाई आफन्तले सुरुमा स्थानीय मेडिकलमा सामान्य उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको छ।
आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै गोठभित्र रहेका खसी २ वटा, बोका २ वटा र बाख्रा ४ वटा जलेर मृत्यु भएको जानकारी दिइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।










