हेटौंडा । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीका लागि उद्यमशीलता सम्बन्धी तीन क्रेडिट आवरको तालिम सञ्चालन गर्दै आएको छ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले उद्यमशीलतासम्बन्धी परियोजना तयार गरी पेश गर्नेछन्। पेश गरिएका परियोजनामध्ये उत्कृष्ट पाँच वटा परियोजनालाई स्टार्टअपका लागि प्रारम्भिक लगानी रकम उपलब्ध गराइनेछ भने बाँकी सहभागीहरूलाई प्रशिक्षकका रूपमा तयार गरिने प्राध्यापक डा. धनपति सुवेदीले जानकारी दिए।
तालिमको क्रममा प्रशिक्षार्थीहरूका लागि बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सेमिनारसमेत सम्पन्न भएको छ। उक्त सेमिनारमा सम्पूर्ण प्रशिक्षार्थीहरूका साथै अन्य व्यक्तिहरूको पनि सहभागिता रहेको थियो। सेमिनारमा उद्यमशीलताको क्रममा आवश्यक जानकारी प्रदान गर्न बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत ट्रेडमार्क, प्रतिलिपि अधिकार तथा व्यापारिक गोप्य जानकारीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।
सेमिनारको क्रममा डा. धनपति सुवेदीले सेमिनारको उद्देश्य र व्यवसाय सञ्चालनका क्रममा बौद्धिक सम्पत्ति अधिकारको महत्वबारे जानकारी गराए । कार्यक्रमका अध्यक्ष नूरजंग शाहले सेमिनारले सहभागीहरूलाई व्यवसाय सञ्चालनका क्रममा बौद्धिक सम्पत्ति अधिकारबारे जानकारी दिई आफ्ना उत्पादन तथा सेवालाई कानुनी रूपमा सुरक्षित गर्न सहयोग पुगेको बताउँदै कार्यक्रम समापन भएको घोषणा गरे।










