राक्सिराङमा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक नाटक प्रदर्शन

 

हेटौंडा । मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको छ। “हाम्रो आवाज : चेलीबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने नाराका साथ राक्सिराङ गाउँपालिका–३ स्थित श्री सुर्योदय माध्यमिक विद्यालय, पलाँसेमा नाटक प्रस्तुत गरिएको हो।

माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरिको सभाध्यक्षता तथा राक्सिराङ गाउँपालिका–३ का वडा अध्यक्ष उत्तम वाइबाको प्रमुख आतिथ्यतामा नाटक प्रदर्शन गरिएको थियो।

नाटकमा गरिब परिवारको पृष्ठभूमि, बुवाको मदिरा सेवनका कारण आमामाथि हुने घरेलु हिंसा, छोरीलाई बोझ ठानी बालविवाह गराउन खोजिएको कथा प्रस्तुत गरिएको थियो। बालविवाहबाट बच्ने प्रयासमा प्रेमीमाथि विश्वास गर्दा छोरी मुम्बईमा बेचिन पुगेको र पछि प्रहरी तथा माइती नेपाललगायत विभिन्न संस्थाको पहलमा उद्धार गरिएको घटनालाई नाटकमार्फत देखाइएको थियो।

नाटकमा “किन बेचिन्छ?”, “महिला बोझ होइनन्”, “महिला संसारकी सृष्टिकर्ता हुन्” तथा “महिलामाथि हिंसा नगरौँ” जस्ता सन्देशहरू प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

नाटक हेरेपछि कक्षा १० मा अध्ययनरत छात्रा सम्झना थिङले गाउँघरमा अझै पनि बालविवाह र घरेलु हिंसा विद्यमान रहेको बताइन्। उनले भनिन्, “अहिले पनि पढाइ छोडेर बस्ने अवस्था छ। यदि यस्तो नाटक गाउँगाउँमा लगेर देखाउन सकियो भने बालविवाह र घरेलु हिंसा केही हदसम्म रोकिने थियो।” उनले यस्ता कार्यक्रमहरू अझै गाउँस्तरसम्म विस्तार गर्न आग्रह गरिन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, शिक्षकहरू, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, मन लामा, माइती नेपालका प्रतिनिधि, प्रहरी, नाटक प्रस्तुत गर्ने कलाकार, अभिभावक तथा करिब ३०० विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.