फास्ट ट्र्याक अनुगमनमा खुल्यो ‘बन्द’ भनिएको बालुवा उद्योग, प्रशासनद्वारा तत्काल रोक आदेश

 

हेटौंडा । बकैया गाउँपालिकाले यस आर्थिक वर्षदेखि बन्द रहेको भनी जानकारी दिएको एक बालुवा प्रशोधन उद्योग अनुगमनका क्रममा सञ्चालनमै रहेको पाइएको छ। मकवानपुरको बकैया गाउँपालिका–५ मा रहेको सुहाना एण्ड पारुसी कन्स्ट्रक्सन नामक बालुवा प्रशोधन प्लान्ट शुक्रबार गरिएको फास्ट ट्र्याक सम्बन्धित संयुक्त अनुगमनमा नियमित रूपमा चलिरहेको भेटिएको हो।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको अनुगमन टोलीमा नेपाली सेना, रक्षा मन्त्रालय, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका प्रतिनिधि तथा ललितपुर र मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। सो टोलीले उद्योग सञ्चालनमा रहेको देखेपछि तत्कालै काम रोक्न मौखिक निर्देशन दिएको थियो।

गाउँपालिकाले यसअघि जिल्ला समन्वय समितिमा पठाएको पत्रमा उक्त उद्योग फास्ट ट्र्याकको क्षेत्रभित्र परेकाले स्थानान्तरणका लागि यस आर्थिक वर्षदेखि बन्द रहेको जानकारी गराएको थियो। तर अनुगमनका क्रममा उद्योग सञ्चालनमै रहेको पुष्टि भएपछि प्रशासनले बन्द भनिएको अवधिमा उत्पादन भएका सामग्रीको राजस्व तिरेर मात्र स्थानान्तरण गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

जिल्ला समन्वय समितिका अनुसार जिल्लाभर सञ्चालनमा रहेका क्रसर तथा गिट्टी–बालुवा उद्योगहरूको सूचीमा सो उद्योग समावेश थिएन। समिति सूचना अधिकारी इन्दिरा पौडेलले यस वर्ष विभिन्न कारणले नियमित अनुगमन हुन नसकेको बताउँदै अब राजस्व तिर्न निर्देशन दिँदै पत्राचार गरिने जानकारी दिए।

उद्योगका सञ्चालक लिलाराज सापकोटा (सन्तोष) ले भने हाल सो प्लान्ट आफूले नभई ‘तामाङ एग्रीगेट’ को नामबाट सञ्चालन भइरहेको दाबी गर्नुभयो। स्थानान्तरणमा खर्च लाग्ने भएकाले ढिलाइ भएको उल्लेख गर्दै अब उत्पादित सामग्रीसहित उद्योग सार्ने तयारीमा रहेको उनले बताए ।

यसैबीच बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उद्योग खुला रहेको स्वीकार गर्दै अब प्रशासनको निर्णयअनुसार अगाडि बढ्ने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.