मकवानपुर । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाइ फरार भएका चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राति करिब ७:४५ बजे हेटौंडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङ ड्युटीमा खटिएको प्रहरी टोलीले सवारी साधन रोकी जाँच गर्ने क्रममा नवलपुरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकेको थियो।
मापसे (मादक पदार्थ सेवन) परीक्षणका लागि ब्रेथलाइजर प्रयोग गर्ने क्रममा कार चालकले अचानक सिसा बन्द गरी गाडी चलाउँदै भाग्न खोज्दा ड्युटीमा खटिएका एक प्रहरी जवानलाई करिब १० मिटर घिसारेर घाइते बनाएको प्रहरीले जनाएको छ। चालक घटनास्थलबाट फरार भएको थियो।
घटनापछि गरिएको खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कार र चालकलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका चालक हेटौंडा–५ गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्। कारभित्र ब्रेथलाइजर मेसिन समेत फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको छ। घटनामा घाइते भएका प्रहरी जवानको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।










