हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा भत्काइएका जोखिमयुक्त घर–टहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनाअनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्दै यस्तो आग्रह गरिएको हो।
प्रशासनका अनुसार अधिकांश घरधनीहरूले भत्काइएका संरचनाको व्यवस्थापन गरिसकेका भए पनि केही स्थानमा आंशिक रूपमा भत्किएका घर–टहरामा अझै व्यापार सञ्चालन भइरहेको पाइएको छ। यस्ता संरचनामा व्यवसाय गर्दा कामदार र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम हुने भन्दै श्रमिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ।
जोखिमपूर्ण संरचनामा व्यवसाय सञ्चालन गर्दा हुन सक्ने कुनै पनि विपद्जन्य घटनाको जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयंले वहन गर्नुपर्ने स्पष्ट गरिएको छ। उल्लेखनीय छ, रातोमाटे–बुद्धचोक–राती पुल तथा बुद्धचोक–सामरी पुल खण्डमा गरिएको सडक विस्तार कार्य हाल सर्वोच्च अदालतको आदेशअनुसार स्थगित अवस्थामा छ।









