जेन–जी आन्दोलनको सन्देश आत्मसात गर्दै नेता विरोध खतिवडाद्वारा उम्मेदवारी नदिने घोषणा

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

मकवानपुर क्षेत्र नं. १ र २ दुबैबाट उम्मेदवारका रूपमा सिफारिसमा पर्नुभएका खतिवडाले जेन–जी युवा पुस्ताले उठाएको आन्दोलनको भावना र सन्देशलाई सम्मान गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेको स्पष्ट पारे। उनले युवापुस्ताको आन्दोलनले पुराना पुस्ताका नेताहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दै विश्राम लिनुपर्ने सन्देश दिएको बताए।

खतिवडाले आफू निर्वाचनमा सहभागी नहुने भए पनि राजनीतिक रूपमा भने सक्रिय नै रहने उल्लेख गर्नुभयो। पार्टीका अन्य उम्मेदवारलाई जिताउन पूर्ण रूपमा लागिपर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेतृत्व तहबाट टिकट पाउन कुनै अवरोध नरहे पनि नयाँ पुस्ता र अन्य नेताहरूलाई अवसर दिन स्वेच्छाले उम्मेदवारी नलड्ने निर्णय गरेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा नेता खतिवडाले सांसदका रूपमा आफूले गरेका कामहरूको विवरण प्रस्तुत गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला काभ्रेमा लैजान खोजिएको मदन भण्डारी प्राविधिक विश्वविद्यालयको एक भाग चित्लाङमा ल्याउन सफल भएको दाबी गरे। साथै, आफ्नो कार्यकालमा सडक पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन भए पनि पछिल्लो तीन वर्षयता मकवानपुर विकासमा अपेक्षित गति नआएको उनको भनाइ थियो।

आगामी निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच कुनै पनि किसिमको चुनावी गठबन्धन नहुने स्पष्ट पार्दै खतिवडाले प्रजातन्त्रका मूल्य र मान्यताको संरक्षणका लागि प्रमुख तीन दलबीच गठबन्धन अनुचित हुने धारणा राखे। विगतमा कांग्रेस–एमाले गठबन्धनको विरोध गरेको स्मरण गराउँदै उनले वर्तमान राजनीतिक परिस्थितिले बामपन्थीभन्दा कांग्रेससँग सहकार्य गर्न सहज अवस्था देखिएको टिप्पणी गरे।

राष्ट्रिय पञ्चायतकालदेखि सक्रिय राजनीतिमा रहनुभएका खतिवडा मकवानपुरबाट छ पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर चार पटक निर्वाचित भएका थिए । एमाले विभाजनपछि एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बन्नुभएका उहाँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता महेश बर्तौलासँग पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.