नाङ्गा खुट्टा विद्यालय आउने बालबालिकालाई अप्टिमिस्ट क्लबको सहारा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि द हेटौंडा अप्टिमिस्ट क्लबले शैक्षिक तथा खेलकुद सामग्री र जुत्ता वितरण गरेको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीलाई कापी–कलम, खेल सामग्री (बल, भलिबल) तथा जुत्ता हस्तान्तरण गरेको हो। विद्यालयमा धेरै बालबालिका नाङ्गा खुट्टा विद्यालय आउने गरेको अवस्था देखेपछि जुत्ताको आवश्यकता महसुस गर्दै क्लबले उक्त सहयोग गरेको जनाएको छ।

कार्यक्रममा बोल्दै द हेटौंडा अप्टिमिस्ट क्लबका अध्यक्ष जनक सुवेदीले हेटौंडा जस्तो महानगरपालिकाभित्रै यति विकट अवस्था देख्दा आफू भावविह्वल भएको बताए। “बत्तीमुनिको अँध्यारो जस्तै अवस्था यहाँ भेटियो,” उनले भने, “यो दायित्व स्थानीय सरकारको भए पनि मानवीय संवेदनाका कारण क्लबले सहयोग गरेको हो। आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

अध्यक्ष सुवेदीकै सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर गोले, विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोले,संस्थाका पूर्व अध्यक्ष ओमप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, निर्वाचित अध्यक्ष उत्तमप्रसाद भण्डारी तथा संस्थापक अध्यक्ष एवं वर्तमान निर्वाचित गभर्नर सरोजचन्द्र भट्टराईलगायतको उपस्थिति थियो।
शैक्षिक सामाग्री विज्ञान रिमालले सहयोग गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले सञ्चारमाध्यममा विद्यालयका विषयमा भएका समाचार प्रकाशन–प्रसारणपछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताए। “विद्यार्थीको नियमितता बढेको छ, पढाइप्रतिको आकर्षण बढेको छ,” उनले भने।

खेलकुद सामग्री र जुत्ता पाउँदा विद्यार्थीहरूको अनुहारमा चमक देखिएको थियो। विभिन्न संघ–संस्था र व्यक्तिको सहयोगले हाल विद्यार्थीहरूले न्यानो कपडा, कापी–कलमलगायत आधारभूत आवश्यक सामग्री पाउन थालेका छन्।

द हेटौंडा अप्टिमिस्ट क्लब २०१८ सालमा हेटौंडामा स्थापना भएको हो भने अप्टिमिस्ट इन्टरनेशनल सन् १९१९ मा अमेरिकामा स्थापना भएको संस्था रहेको अप्टिमिस्टी इनटरनेशनल एसिया डिस्टृकका ई.गभर्नर शरद चन्द्र भट्टराईले जानकारी दिए। पहिलो विश्वयुद्धपछिको भोकमरी, निराशा र सामाजिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको यो संस्था हाल नेपालभर ५२ शाखामार्फत बालबालिका तथा किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र प्रजनन स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको उनले बताए ।

महानगरभित्रै रहेको जीवन ज्योति आधारभूत विद्यालयमा देखिएको यथार्थ दृश्यले अझै पनि शिक्षा र आधारभूत आवश्यकतामा समान पहुँच सुनिश्चित गर्न चुनौती कायमै रहेको सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.