सिविन नेपाल मकवानपुरद्वारा सामाजिक परीक्षण सम्पन्न

मकवानपुर । सिविन नेपाल मकवानपुरको आयोजनामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। सिविन नेपालका अध्यक्ष माधव प्रधानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा अधिवक्ता तथा सामाजिक परीक्षणका सहजकर्ता मनप्रसाद भट्टराईले सामाजिक परीक्षणको अवधारणा, परिभाषा, उद्देश्य, प्रकार, सैद्धान्तिक आधार, विकासक्रम, लागू हुने क्षेत्र, आधारभूत सिद्धान्त, प्रक्रिया, प्रयोग हुने विधि, संकलन गरिने सूचनाहरू, प्रतिवेदनका अंश, सामाजिक परीक्षणका फाइदा, नेपालमा देखिएका चुनौती तथा सफल परीक्षणका सर्तहरूबारे विस्तृत जानकारी गराएका थिए।

सामाजिक परीक्षण कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, मनहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिव खनाल, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विष्णु कुमारी लामिछाने, हेटौंडा–२ का वडा सदस्य सुरज बर्तौला लगायत जनप्रतिनिधि, संघसंस्था प्रतिनिधि, सहयोग प्राप्त परिवार, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सिविन नेपाल मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले संस्थाले सञ्चालन गरिरहेका परियोजनाबारे प्रस्तुतीकरण गर्दै शिक्षा तथा सामाजिक कार्यमार्फत बालश्रम न्यूनीकरण, बालसंरक्षण, बाल यौन दुरुपयोग विरुद्धका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले मकवानपुरका २५० बालबालिकालाई छात्रवृत्तिमार्फत अध्ययन गराइएको, पाँच परिवारलाई आयआर्जन सहयोगस्वरूप बाख्रा तथा लैनो भैँसी वितरण गरिएको बताए। मनहरी गाउँपालिका १, ५ र ७ तथा हेटौंडा उपमहानगरपालिका १ र १० मा विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि उनले दिए।

त्यस्तै, तीन परिवारलाई जीवन उपयोगी सीपमूलक तालिम प्रदान गरिएको, मनहरी–१ मा चार महिनाको मोबाइल रिपेयरिङ तालिम, हेटौंडा–१ र १९ मा दुई जनालाई सवारी चालक अनुमतिपत्र परीक्षाका लागि सहयोग गरिएको विवरण प्रस्तुत गरिएको थियो।

परियोजना व्यवस्थापक कृष्ण तामाङले परियोजनाका लागि विनियोजित बजेट र खर्च विवरण सार्वजनिक गरेका थिए।

प्रस्तुतीकरणपछि भएको खुला छलफलमा सहभागीहरूले सिविन नेपालका कार्यक्रम प्रभावकारी रहेको बताएका थिए। एक शिक्षकले विद्यालय सुधारका क्रममा बाख्राको खोरजस्तै अवस्थाबाट विद्यालयलाई व्यवस्थित र राम्रो बनाइएको उदाहरण प्रस्तुत गरे। सहयोग प्राप्त परिवारहरूले बालबालिकाको शिक्षा र आर्थिक सशक्तीकरणमा सिविनले गरेको योगदानले जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताए।

जनप्रतिनिधिहरूले स्थानीय सरकारले गर्न नसकेको काम गैरसरकारी संस्थामार्फत सिविन नेपालले प्रभावकारी रूपमा गरेको भन्दै प्रशंसा गरे। सहभागीहरूले आगामी दिनमा अझै थप परियोजना सञ्चालन गर्न आग्रहसमेत गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.