हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले संजिवनी अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
शुक्रबार हेटौंडा–४ हुप्राचौरमा सरस्वती पूजाको शुभ अवसरमा सम्पन्न संजिवनी अटिजम केयर सेन्टरको समउद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले तत्काल नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। साथै, उनले चालु वर्षका लागि दुई महिनाको कोठा भाडा आफ्नै खल्तीबाट तिरिदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले जनप्रतिनिधि भाषणमा मात्र सीमित नरही समाजका यस्ता महत्वपूर्ण र संवेदनशील कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। अटिजम भएका बालबालिका तथा उनीहरूको परिवारले भोग्दै आएको कठिनाइलाई मध्यनजर गर्दै सेन्टर स्थापना गरिएको र आर्थिक अभाव रहेको कुरा सुनेपछि आफू भावुक भएको उनले बताए।
उनले आगामी वर्षका लागि छ महिनाको अग्रिम कोठा भाडा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै, भविष्यमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा वडा नम्बर १६ भित्र मर्च भएका कुनै उपयुक्त विद्यालय उपलब्ध गराउने आश्वासन पनि दिए।
अध्यक्ष कोइरालाको यो सहयोग पहिलो भने होइन। उनले यसअघि पनि आफ्नै वडा मात्र नभई अन्य वडाका समस्या परेका व्यक्तिहरूलाई समेत व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै आएका छन्। उनका यस्ता कार्यहरूले जनप्रतिनिधिप्रति जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयवासीहरूको भनाइ छ।









