हेटौंडा।आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (ESCR) छायाँ प्रतिवेदन कार्यशाला हेटौंडामा सम्पन्न भएको छ। बिहीबार इन्सेक बागमती प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
इन्सेक कार्यसमिति सदस्य विद्या चापागाईंको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रमको उद्देश्य मानव अधिकार सन्धिको अनुगमन, सन्धि निकायहरूमा प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, सन्धिअन्तर्गतका दायित्व पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्ने तथा सन्धि अनुमोदनका लागि पहल गर्नु रहेको थियो।
कार्यक्रममा इन्सेक कार्यसमिति सदस्य डा. विद्या चापागाईंले प्रस्तुतीकरण दिनुहुँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गत सूचना प्रस्तुत गर्नुपर्ने मुख्य धाराहरूबारे जानकारी दिनुभयो। उहाँले नेपालको तेस्रो आवधिक प्रतिवेदनमाथि सन् २०१४ मा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी समितिले जारी गरेका सिफारिस, नेपाल सरकारको चौथो आवधिक प्रतिवेदन, नागरिक समाजको चौथो आवधिक प्रतिवेदन, नागरिक समाजद्वारा प्रस्तुत गरिनुपर्ने मुख्य विषय तथा उदीयमान मुद्दाहरूबारे विस्तृत रूपमा प्रस्तुतीकरण गर्नुभयो।
त्यसैगरी इन्सेक मानव अधिकार वहस पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले अन्य ६ प्रदेशमा यस किसिमका कार्यक्रम सम्पन्न भइसकेको र बागमती प्रदेश अन्तिम प्रदेश रहेको जानकारी दिनुभयो। उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी आवधिक प्रतिवेदन, अधिकार अभिसन्धी परिचय, समिक्षा, अवलोकन तथा सिफारिसका विषयमा प्रस्तुतीकरण गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले छुटेका तथा थप गर्नुपर्ने विषयहरूबारे सुझाव दिएका थिए। समाजमा विद्यमान समस्याहरूको उठान गर्दै मानसिक स्वास्थ्य, बाल अधिकारलगायत समसामयिक सामाजिक मुद्दामा छलफल गरिएको थियो।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका मानव अधिकार अधिकृत जागेश्वर चापागाईं, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, प्रदेश बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवाली र प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटालगायत मानव अधिकार तथा सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।










