मकवानपुरका १०२ वडामा घरदैलो मतदाता शिक्षा

 

हेटौंडा । हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका सबै १०२ वडामा एकसाथ मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बदर मतको संख्या घटाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

निर्वाचन कार्यालयले प्रत्येक पालिकाबाट एक–एक जना अनुगमनकर्तालाई तालिम प्रदान गरेको छ। ती अनुगमनकर्तामार्फत प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी दिइँदैछ।

कार्यक्रम अन्तर्गत बालविकास सहजकर्ता तथा महिला स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा खटाइएको छ। उनीहरूले नमूना मतपत्र प्रयोग गरेर सही तरिकाले मतदान गर्ने विधिबारे व्यवहारिक अभ्यास गराउनेछन्। कार्यक्रमको अनुगमन तालिमप्राप्त अनुगमनकर्ताले गर्ने जनाइएको छ।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान प्रक्रियालाई सरल र सहज बनाउँदै बदर मतको अनुपात घटाउने लक्ष्यसहित १७ गतेसम्म अभियान सञ्चालन हुनेछ। मतदाता शिक्षाबाट मतदाताको सहभागिता दर वृद्धि हुनुका साथै सचेत मतदान संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।

गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ४.४६ प्रतिशत मत बदर भएको थियो। जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ५३ हजार ३७६ महिला तथा ५ जना अन्य लिङ्गका मतदाता रहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.