मकवानपुरका दुई क्षेत्रमा प्रलोपका उम्मेदवारद्वारा जनमुखी प्रतिबद्धता सार्वजनिक

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका दुई निर्वाचन क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) का उम्मेदवारहरूले आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको छ। सोमबार मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नम्बर २ का उम्मेदवार सन्तोष विष्टले छुट्टाछुट्टै कार्यक्रममार्फत आफ्ना एजेन्डा सार्वजनिक गर्नुभएको हो।

उम्मेदवारी दर्तासँगै सक्रिय चुनावी अभियानमा रहनुभएका दुवै उम्मेदवारले आर्थिक समृद्धि, सुशासन तथा नागरिकका आधारभूत अधिकारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुभएको छ।

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार तेजप्रसाद उप्रेतीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको स्थापना, भ्रष्टाचार नियन्त्रणका लागि ‘जनलोकपाल’ व्यवस्था लागू गर्ने तथा जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ (प्रत्याह्वान) गर्ने अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हेटौँडा–१९, बस्तीपुरका स्थायी बासिन्दा उप्रेती समाजशास्त्रमा स्नातक उत्तीर्ण गरी हाल स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ। विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका उहाँले कृषिमा बिचौलिया प्रथाको अन्त्य गर्ने, युवालाई ‘भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार शक्ति’का रूपमा स्थापित गर्ने तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सार्नुभएको छ।

उहाँका अन्य एजेन्डाहरूमा पर्यटन विकासका लागि गुरुयोजना निर्माण, नदी कटान नियन्त्रण, वैज्ञानिक कृषि प्रणालीको विकास, निःशुल्क शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने, हेटौँडाको सहरी क्षेत्रलाई व्यवस्थित विकास गर्ने तथा दोहोरो कर प्रणाली अन्त्य गर्ने विषय समेटिएका छन्।

यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार सन्तोष विष्टले गाँजा खेतीलाई औषधीय प्रयोजनका लागि वैधानिकता दिन पहल गर्ने, प्रशोधन उद्योग स्थापना गर्ने तथा पूर्वाधार विकासलाई तीव्रता दिने योजना सार्वजनिक गर्नुभएको छ।

मकवानपुरको उत्तरी थाहा नगरपालिका–३, बाहुनगाउँका स्थायी बासिन्दा विष्टले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँ उद्योग–व्यापार क्षेत्रमा सक्रिय रहनुका साथै प्रलोपका केन्द्रीय सदस्य तथा विशेष प्रदेश समिति सह–इन्चार्जको जिम्मेवारीमा पनि रहनुभएको छ।

तत्कालीन माओवादी जनयुद्धका क्रममा ६ महिना सैनिक हिरासत तथा दुई वर्ष जेल जीवन बिताउनुभएका विष्टले आफ्नो क्षेत्रमा गाँजा खेती वैधानिक बनाउँदै रोजगारी सिर्जना गर्ने लक्ष्य व्यक्त गर्नुभएको छ। उहाँले काठमाडौं–चित्लाङ सडकलाई राष्ट्रिय गौरवको आयोजनासरह प्राथमिकता दिन, कुलेखानी–फर्पिङ सडकलाई आधुनिक बनाउने तथा काठमाडौं–थाहा–कैलाश हुँदै चितवन र पोखरा जोड्ने द्रुतमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उहाँले कक्षा १२ सम्म निःशुल्क शिक्षा व्यवस्था लागू गर्ने, प्रत्येक पालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने तथा हरेक वडामा एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ। जडीबुटी, खानी तथा वनजन्य उद्योगमार्फत रोजगारी सिर्जना गरी बसाइँसराइ रोक्ने उहाँको मुख्य लक्ष्य रहेको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.