हेटौंडा । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको आयोजनामा सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा नव युवाको सहभागिता विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ।
महासंघ जिल्ला शाखाकी अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख बसन्त अधिकारीको प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा निर्वाचन आयोग बागमती प्रदेश प्रमुख हरि प्रसाद ढकालले मतदाता शिक्षा, निर्वाचन प्रक्रिया तथा जिल्लाको निर्वाचन अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए। त्यसैगरी महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
छलफल सत्रमा वर्तमान संक्रमणकालीन अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रणका चुनौतीहरू, प्रतिनिधिसभा निर्वाचन २०८२ समयमै सम्पन्न गर्नुपर्ने चुनौती, निर्वाचन प्रक्रियामा नागरिक समाज र मिडियाको भूमिका, तथा जेनेरेशन–जेड (जेनजी) युवा र महिलाको कमजोर राजनीतिक सहभागिताका कारण र समाधानका विषयमा समूहगत छलफल गरिएको थियो।
कार्यक्रम महासंघ जिल्ला शाखा उपाध्यक्ष कुमारी वाइबाले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, नेपाल पत्रकार महासंघ मकवानपुरका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश अधिकृत कृष्ण मिश्र, जेनजी युवा, महिला, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति थियो।
जिल्लास्तरमा अन्तरपुस्ता संवादमार्फत सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा युवाको समावेशी सहभागिताबारे समझदारी र कार्यदिशा स्थापना गर्नुका साथै सरोकारवाला निकायमा जवाफदेहिता प्रवर्द्धन गर्दै जिल्लागत सिएसओ प्रतिनिधिहरूलाई प्राथमिकता निर्धारण तथा कार्ययोजना निर्माणका लागि प्रारम्भिक जानकारी संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।











