हेटौँडा । चारपटकको पराजयपछि पनि नहट्ने अडानसहित महालक्ष्मी उपाध्याय ‘डिना’ पुनः चुनावी मैदानमा उत्रिएकी छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसकी नेतृ डिना मकवानपुर–१ बाट जितको खोजीमा छिन्।
६१ वर्षीया डिना ०४८, ०५१, ०७४ र ०७९ का संसदीय निर्वाचनमा पराजित बनेकी थिइन्। पाँचौँ प्रयासमा उनी हारको इतिहास चिर्ने दाउमा छिन्।
२०२१ सालमा चितवनमा जन्मिएकी डिना राजनीतिक परिवेशमै हुर्किइन्। उनी जन्मिँदा उनका हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको आरोपमा चितवन कारागारमा थिए। प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सक्रिय अधिकारी १२ वर्ष जेल बसेका थिए र कांग्रेसको चितवन जिल्ला सभापति समेत बने।
घर–परिवार नै कांग्रेस राजनीतिमा सक्रिय भएकाले डिनाको राजनीतिक यात्रा पनि त्यही धारबाट सुरु भयो। ०३९ सालमा पद्मकन्या क्याम्पसमा भर्ना भएपछि उनी खुला रूपमा नेपाल स्टुडेन्ट युनियनको राजनीतिमा लागिन्। ०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा उनी नेतृ सैलजा आचार्यसँगै सात महिना जेल परिन्।
०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित भएकी डिना ०४७ देखि २०५७ सम्म नेपाल महिला संघ, मकवानपुरकी सभापति रहिन्।
२०५९ सालको पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य बनिन्। एकीकृत कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भएसँगै उनी पार्टी नेतृत्वमा स्थापित भइन्।
०६४ र ०७० को संविधानसभामा समानुपातिकबाट सांसद बनेकी डिनाले ०६४ सालमा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आमनिर्वाचन (०४८) मा नै उनले मकवानपुर–२ बाट प्रतिस्पर्धा गर्दै एमालेका विरोध खतिवडासँग हार व्यहोरेकी थिइन्। ०५१ र ०७४ मा पनि परिणाम उनको पक्षमा आएन।
०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी डिनाले अपेक्षित साझा मत तान्न सकिनन्। मकवानपुर–१ बाट दिपक बहादुर सिंहसँग २ हजार ३८७ मतान्तरले पराजित हुँदा उनले स्वतन्त्रसहित १४ पुरुष उम्मेदवारलाई पछि पारेकी थिइन्।
यसपटक डिना सहानुभूति र आफ्नो दीर्घ राजनीतिक योगदानलाई मुख्य चुनावी एजेन्डा बनाउँदै मतदातामाझ पुगेकी छन्।
“महिलाको अधिकार स्थापनाका लागि मैले निरन्तर संघर्ष गरेँ,” उनी भन्छिन्, “मकवानपुरवासीले मेरो योगदान भुल्ने छैनन्।”
उनले विशेषगरी महिला मतदाताको समर्थन निर्णायक हुने दाबी गर्दै आएकी छन्। उनका अनुसार राज्य संरचनामा महिलाको सहभागिता र नेतृत्व विस्तारका लागि आफूले निरन्तर आवाज उठाएकी छन्।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ४४ जना प्रतिस्पर्धामा छन्। तीमध्ये सात जना महिला उम्मेदवार छन्। देशभर कांग्रेसले उठाएका ११ महिला उम्मेदवारमध्ये डिना पनि एक हुन्।
चारपटक हारिसकेपछि पनि नथाक्ने आत्मविश्वासका साथ पाँचौँ प्रयासमा उत्रिएकी डिनाको राजनीतिक यात्राले एउटा प्रश्न भने उठाइरहेको छ—के मकवानपुरले यसपटक उनलाई ‘न्याय’ गर्छ, वा हारको सिलसिला फेरि दोहोरिन्छ?
निर्णय अब मतदाताको हातमा छ।











