मकवानपुरमा मतदानको तयारी सकियो, ३ लाख बढी मतदाता सहभागी हुँदै

हेटौंडा । मकवानपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम तयारी पूरा गरिएको छ। बिहीबार बिहानदेखि सुरु हुने मतदानका लागि जिल्लाभरका मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापन तथा सुरक्षा प्रबन्ध मिलाइसकिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।

जिल्लाका १६७ मतदानस्थल अन्तर्गत ३७४ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री तथा अशक्त मतदाताका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। महिला र पुरुष मतदाताका लागि पनि अलग–अलग लाइन बनाइएको छ। मतगणनास्थलको तयारी समेत अन्तिम चरणमा पुगेको छ।

मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार रहेका छन्। प्रमुख राजनीतिक दलका उम्मेदवारसँगै साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन्।

जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि मकवानपुरमा १४ हजार ६०१ मतदाता थपिएका छन्। सबैभन्दा बढी मतदाता वृद्धि हेटौँडा उपमहानगरपालिकामा भएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रसेवक कर्मचारी र कैदीबन्दीका लागि जिल्ला प्रशासन कार्यालय र भीमफेदी कारागारमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। जिल्लामा ३ हजार ७०१ अस्थायी मतदाता रहेका छन्। कारागारमा रहेका ९ सय ६८ कैदीबन्दीमध्ये ७५ जनाको नाम मतदाता नामावलीमा समावेश छ। अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन व्यवस्थापनका लागि ३ हजार ३६६ कर्मचारी तथा स्वयंसेवक परिचालन गरिनेछन्। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट ६ जना कर्मचारी खटाइनेछन् भने प्रत्येक मतदानस्थलमा ३ जना स्वयंसेवक परिचालन गरिने व्यवस्था छ।

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन करिब ४ हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा निर्वाचन प्रहरी खटाइनेछन्। जिल्लाका १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.