हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित विजयी भएका छन्। ३७ वर्षीय गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै आफ्ना प्रमुख प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८ मत प्राप्त गरिन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर राना १२ हजार ७८३ मतसहित तेस्रो स्थानमा सीमित भए।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह यसपटक भने छैटौँ स्थानमा खुम्चिए। उनले ४ हजार ५७४ मत मात्रै प्राप्त गरे।
अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले १० हजार ७८८ मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत तथा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट दीपकबहादुर सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी हुँदा महालक्ष्मी उपाध्याय डिना २५ हजार ४३४ मतसहित दोस्रो भएकी थिइन्।
यस पटकको परिणामसँगै एमालेका रामेश्वर रानाको संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयास पनि असफल भएको छ भने डिनाले प्रत्यक्ष निर्वाचनमा पाँचौँ पटक पराजय भोगेकी छन्। पहिलो पटक चुनावी मैदानमा उत्रिएका विजय गौतमले भने उल्लेखनीय मत ल्याउन सफल भएका छन्।










