हेटौंडा । गैरआवासीय नेपाली संघ एनआरएनए का पूर्व क्यानाडा अध्यक्ष माधव दुलालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसिसी को सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
सन् २०२३–२०२५ कार्यकालका लागि NRNA NCC क्यानाडाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभवका आधारमा आफूले आइसिसी सचिव पदमा उम्मेदवारी दिएको दुलालले बताएका छन्।
उनले आफ्नो उम्मेदवारीसँगै केही महत्वपूर्ण एजेन्डा सार्वजनिक गरेका छन्। जसमा हाल प्रयोगमा रहेको प्रतिनिधिमार्फत चुनाव गराउने प्रणाली अन्त्य गरी विश्वभर रहेका सबै पञ्जीकृत सदस्यहरूले प्रत्यक्ष रूपमा अनलाइन मतदान गर्ने व्यवस्था लागू गर्ने प्रमुख रहेको छ।
त्यसैगरी देशको मानव स्रोत विकासलाई प्राथमिकता दिँदै स्किल ट्रेनिङ सेन्टरहरूको विकास गर्ने, विदेश जाने नेपाली कामदारका समस्याहरू समाधान गर्न उच्चस्तरीय सपोर्ट सेन्टर स्थापना गर्ने पहल गर्ने पनि उनको एजेन्डामा समावेश छ।
नेपालमा विकास र रोजगारी सिर्जना गर्न विश्वभर रहेका नेपालीहरूबाट ‘सीड मनी’ अर्थात् प्रारम्भिक लगानी कोष संकलन गर्ने योजना पनि उनले अघि सारेका छन्। साथै NCC ले ICC लाई बुझाउँदै आएको लेबी प्रणाली अन्त्य गरी ICC लाई वैकल्पिक स्रोतमार्फत आत्मनिर्भर बनाउने प्रस्ताव पनि उनले राखेका छन्।
दुलालले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई आफ्ना सुझाव, एजेन्डा तथा फिडब्याक साझा गर्न आग्रह गर्दै सबैको सहभागितामा प्रभावकारी र बलियो कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी निर्वाचनमा विश्वभर रहेका पञ्जीकृत सदस्यहरूको मत तथा समर्थनको अपेक्षा समेत गरेका छन्।










