हेटौंडा । हेटौंडामा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका छन्। सोमबार गैरसरकारी संस्था महासंघ र दलित महिला संघ (फेडो) को संयुक्त आयोजनामा युवा विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा मानव अधिकारकर्मीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “हत्यारालाई कारबाही गर”, “पीडितलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे”, “नारी अस्मिताको रक्षा गर”, “महिलाको सम्मान राष्ट्रको पहिचान हो”, “अन्तरजातीय प्रेमलाई सम्मान गर”, “दलित महिलामाथिको हिंसा बन्द गर” र “नेतृत्व फेरिरहन्छ, दलितहरू मरिरहन्छन्” जस्ता नारा लगाएका थिए।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाकी अध्यक्ष रमिला सापकोटा,पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ‘द एनजीओ काउन्सिल’ मकवानपुरका संयोजक सुगम नेगी, माइती नेपाल संयोजक माया लामा, गैरसरकारी संस्था उपाध्यक्ष कुमारी वाइबा लगायत करिब दुई सय जनाको उपस्थिति थियो।
प्रदर्शन बुद्धचोकबाट सुरु भई स्कुलरोड, खोपेगल्ली र कान्तिराजपथ हुँदै पुनः बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले अन्त्यमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरेका थिए।
यसअघि सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










