हेटौंडा । बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी जिल्ला स्तरीय कार्यक्रम बिहीबार सम्पन्न भएको छ। जिल्ला समन्वय समिति र बाल हेल्पलाइन सिविनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख ललित घलानको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कन्चन वादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै मन्त्री वादेले बालबालिकाको अधिकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धित निकायबीच समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले बाल संरक्षणका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) श्याम बहादुर खत्रीले पछिल्लो समय लागुऔषध दुव्र्यसन, जबरजस्ती करणी तथा हाडनाता करणीका घटनामा वृद्धि भइरहेको बताएका छन्। उनले सामाजिक सञ्जालको दुरुपयोग र अभिभावकको लापरवाहीका कारण सानो उमेरमै बालबालिकाको हातमा मोबाइल पुग्नु मुख्य चुनौती बनेको उल्लेख गरे। साथै, १८ वर्षमाथिका बालकलाई सुधार गृहमा राखिए पनि १८ वर्षमुनिका बालबालिका हिंसामा पर्ने क्रम जारी रहेको बताए।
कार्यक्रममा जिल्लाका ९ वटा स्थानीय तहका प्रतिनिधिहरूले पालिकामा बालबालिकाको क्षेत्रमा भइरहेको कामबारे प्रस्तुतीकरण गरेका थिए।
हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण शाखा प्रमुख विष्णु कुमारी लामिछानेले ‘बाल अधिकार प्रवर्द्धनमा स्थानीय तहको भूमिका र दायित्व’ विषयमा प्रस्तुतीकरण दिइन्। श्रम तथा रोजगार कार्यालय प्रमुख नारायण साहले बालश्रमका प्रकार तथा नियन्त्रणका प्रयासबारे जानकारी गराए। त्यस्तै, साप्लानीरका सिनियर कार्यक्रम अधिकृत सृजना श्रेष्ठले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमबारे प्रस्तुतीकरण प्रस्तुत गरिन्।
सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले संचालन गरेका कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सानुकाजी लुइँटेल, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोद अमात्य, जिल्ला समन्वय अधिकारी विष्णु पौडेल, विभिन्न पालिकाका उपप्रमुखहरू, सामाजिक विकास समिति संयोजकहरू, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, गैरसरकारी संस्था अध्यक्ष रमिला सापकोटा, माइती नेपालकी संयोजक माया लामा, हिमराइट्सकी संयोजक कुमारी वाइबा, शिक्षक, मानवअधिकारकर्मी लगायतको उपस्थिति थियो।









