हेटौंडा । हेटौंडामा मनोसामाजिक समृद्धि तथा आत्म हेरचाह सम्बन्धी ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सुनौलो शिक्षा नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता सुनिरा लामाले प्रशिक्षण दिएकी थिइन्। कार्यक्रम सुनौलो शिक्षा नेपालको अध्यक्ष आशिष दुलालको सभाअध्यक्षता तथा वडा नम्बर ८ का अध्यक्ष राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा टोल विकास संस्था प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, बाल सञ्जाल तथा एकल महिला समूहका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले यसलाई अहिलेसम्मकै नयाँ तथा आवश्यकता मूलक कार्यक्रम भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा वडा सदस्य रिता मङराती, वडा सचिव उशा मिश्र, टोल विकास वडा समन्वय समितिका अध्यक्ष विष्णु अर्जेललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।











