मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नै खर्चमा सडक निर्माण गरिदिएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। मनहरी गाउँपालिका–२ अन्तर्गत कर्मचोकदेखि वडा कार्यालयसम्म जोड्ने करिब २०० मिटर लामो र ६ मिटर चौडा सडक ढलान गरिएको हो, जसको लागत करिब २० लाख रुपैयाँ रहेको जनाइएको छ।
बिहीबार आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तानले रिबन काटेर सडकको उद्घाटन गर्नुभएको थियो । धुलो र प्रदूषणका कारण लामो समयदेखि समस्यामा रहेका स्थानीयका लागि यो सडक निकै आवश्यक रहेको बताइएको छ।
अध्यक्ष कालाखेतीका अनुसार पछिल्लो समय बजेट कटौती र विभिन्न कारणले विकास निर्माणका काम प्रभावित भएपछि तत्काल आवश्यक देखिएको उक्त सडक आफ्नै लगानीमा निर्माण गरिएको हो। उहाँले जनप्रतिनिधि बनेयता सरकारी सेवा–सुविधा न्यून प्रयोग गर्दै आएको र प्राप्त तलबभत्ता समेत सामाजिक काममै खर्च गर्दै आएको उल्लेख गर्नुभयो ।
वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रिनले अध्यक्षको पहलप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा यस क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अघि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसअघि पनि अध्यक्ष कालाखेतीले मनहरी–५ मा एक विपन्न परिवारका लागि घर निर्माण गरिदिएका थिए भने मनहरी–६ मा अर्को घर निर्माण कार्य जारी रहेको छ। साथै विपन्न बालबालिकाका लागि छात्रवृत्ति र पोसाक व्यवस्थापनमा समेत उनले निरन्तर सहयोग गर्दै आएका छन्।










