हेटौंडा । हेटौंडामा बालमैत्री स्थानीय शासन घोषणा पश्चातका उपलब्धि, चुनौती तथा दीगोपनका विषयमा सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। सिविन नेपालको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, सरकारी निकाय, गैरसरकारी संस्था तथा बालसञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रदेशस्तरीय बालमैत्री स्थानीय शासन घोषणा समितिका सदस्य अच्युत प्रसाद उपाध्यायले कार्यपत्र प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन घोषणाका कानुनी आधार, घोषणा प्रक्रिया, प्रमुख उपलब्धि, सामाजिक सुधार, मुख्य चुनौती तथा समाधानका उपायहरूबारे प्रकाश पार्नुभयो।
उहाँका अनुसार, उपलब्धिहरूमध्ये सामुदायिक विद्यालयमा निःशुल्क आधारभूत शिक्षा लागू हुनु, गरिब, दलित तथा बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन, बालमैत्री विद्यालय अभियान विस्तार, विद्यालय भर्ना दरमा वृद्धि तथा बाल मृत्युदरमा उल्लेखनीय कमी प्रमुख रहेका छन्। विगत २० वर्षमा बाल मृत्युदर झन्डै ७० प्रतिशतभन्दा बढीले घटेको तथ्य प्रस्तुत गरिएको थियो।
सुधारका उपायका रूपमा पालिका स्तरमा डाटा बैंक स्थापना, सूचकहरूको स्थानीयकरणसहित प्रभावकारी कार्यान्वयन, रणनीतिक तथा लगानी योजना कार्यान्वयन, बजेट वृद्धि र योजनाको प्राथमिकता निर्धारण तथा अन्तरनिकाय समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाका प्रतिनिधिहरूले आ–आफ्नो पालिकामा भएका काम, उपलब्धि तथा चुनौतीहरूबारे प्रस्तुति दिएका थिए। हेटौंडा उपमहानगरपालिकाकी महिला, बालबालिका महाशाखा निर्देशक विष्णु कुमारी लामिछानेले ५१ वटै सूचकमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै दीगोपनका लागि निरन्तर लगानी आवश्यक रहेको बताउनुभयो। साथै केही सूचकहरू व्यवहारिक नभएकाले पुनर्विचार गर्नुपर्ने धारणा पनि राख्नुभयो।
कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति तथा योजना आयोग, कानुन तथा आन्तरिक मामिला मन्त्रालय, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिहरूसहित करिब ३५ जनाको सहभागिता रहेको सिविन नेपालका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो।
कार्यक्रमको सभाध्यक्ष सिविन नेपालका केन्द्रीय कार्यकारी निर्देशक कुमार भट्टराई रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, विशेष अतिथिका रूपमा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री तथा हेटौंडा–११ का वडाध्यक्ष जुना दाहालको उपस्थिति रहेको थियो।










