समृद्ध हेटौडाको आधार : बालमैत्री, सुरक्षित र समावेशी समाज

नेपालमा स्थानीय सरकारहरू विकासका प्रमुख संवाहकका रूपमा स्थापित भएका छन । स्थानीय तहले नागरिकका दैनिक आवश्यकता, सेवा प्रवाह, विकास निर्माण तथा सामाजिक रूपान्तरणका कार्यहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने भएकाले समृद्ध समाज निर्माणमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुन्छ । हेटौडा उपमहानगरपालिकाको हकमा यो पालिका बागमती प्रदेशको राजधानी सहरको साथै औधोगिक, शैक्षिक तथा प्रशासनिक केन्द्रका रूपमा पनि परिचित रहको पाईन्छ । पछिल्ला वर्षहरूमा सडक, खानेपानी, भवन निर्माण, पार्क तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि समृद्धिको वास्तविक मापन केवल भौतिक संरचनाले मात्र सम्भव हुँदैन । नागरिकको जीवनस्तर, सुरक्षा, बालमैत्रीको निरन्तरता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, मानसिक सन्तुलन, लैङ्गिक समानता तथा बालअधिकारको अवस्था पनि समृद्धिको महत्वपूर्ण आधारको रुपमा लिईएको हुन्छ ।
हेटौडामा “समृद्ध हेटौडा” को बहस केवल आर्थिक वृद्धिदर, भवन निर्माण वा लगानी भित्राउने विषयमा मात्र सीमित रहनु हुँदैन। समृद्ध हेटौडा त्यतिबेला मात्र सम्भव हुन्छ जब यहाँका बालबालिका सुरक्षित हुन्छन्, किशोरीहरू बालविवाहको जोखिमबाट मुक्त हुन्छन्, सार्वजनिक शिक्षा गुणस्तरीय बन्छ, महिलाहरू हिंसामुक्त वातावरणमा बाँच्न पाउँछन्, युवाहरू मानसिक तनावका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुँदैनन् र नागरिकहरूले स्थानीय सरकारप्रति विश्वास र सन्तुष्टि अनुभूत गर्दछन ।
हेटौडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन गर्ने स्थानीय तहमध्ये अग्रणी मानिन्छ। बालमैत्री घोषणा आफैँमा महत्वपूर्ण उपलब्धि हो। तर घोषणा प्राप्त गर्नु अन्तिम लक्ष्य होइन। यसको दिगोपना कायम राख्नु अझ ठूलो चुनौती हो। त्यसैले उपमहानगरपालिकाले बालमैत्री दिगोपनलाई औपचारिकता मात्र नराखी विकासको केन्द्रबिन्दुका रूपमा राखिनु पर्दछ ।
बाल संरक्षण आजको महत्वपूर्ण सामाजिक मुद्धा हो । नेपालमा बालबिबाह, बाल हिंसा, बाल श्रम, बाल यौन दुव्र्यवहार, बेचबिखन तथा अनलाइन शोषणका घटनाहरू अझै पनि विधमान समस्याको रुपमा रहेको देखिन्छ । हेटौडा जस्तो शहरीकरण हुँदै गएको क्षेत्रमा यस्ता जोखिमहरू अझ जटिल बन्दै गएका र भाबिश्यमा जाने निश्चित रहेको देखिन्छ । विधालय, समुदाय, प्रहरी, स्वास्थ्य संस्था तथा स्थानीय सरकारबीच समन्वित बाल संरक्षण प्रणाली विकास गर्न आवश्यक पर्दछ । प्रत्येक वडामा सक्रिय बाल संरक्षण समिति, बाल हेल्पडेस्क, जोखिममा रहेका बालबालिकाको पहिचान तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता देखिन्छ । बालबालिकाको सुरक्षा सुनिश्चित नगरी समृद्ध समाजको कल्पना गर्न सकिँदैन ।
त्यसैगरी, बालविवाह आज पनि सामाजिक विकासको प्रमुख चुनौतीको रुपमा रहेको देखिएको छ। कानुनी रूपमा निषेध गरिए पनि विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणले बालविवाहका घटनाहरू भइरहेका छन । प्रसुती सेवालिने स्वास्थ्य कार्यालयमा बालिकाले बालबालिका जन्माएको प्रष्ट देख्न सकिन्छ । गरिबी, अशिक्षा, लैङ्गिक विभेद, सामाजिक दबाब तथा अवसरको अभावले धेरै किशोरीहरू अझै बालविवाहको सिकार भइरहेका छन्। बालविवाह रोक्न केवल कानुनी कारबाही पर्याप्त हुँदैन। यसको समाधानका लागि लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण आवश्यक हुन्छ । किशोरीहरूको शिक्षा, सीप विकास, आर्थिक सशक्तिकरण तथा नेतृत्व विकासमा लगानी पर्याप्त मात्रामा गरिनु पर्दछ । बालक तथा पुरुषहरूलाई समेत बालबिबाह अन्त्य गर्ने र लैङ्गिक समानताको अभियानमा सहभागी गराउनु आजको आवश्यक हो । समुदाय, विधालय, अभिभावक, धार्मिक अगुवा तथा स्थानीय सरकारको संयुक्त प्रयासबाट मात्र बालविवाह अन्त्य सम्भव हुन्छ । यसतर्फ पालिका गम्भिर भएर कृयाशिल हुन पर्ने देखिन्छ ।
समृद्ध हेटौडाको अर्को आधार गुणस्तरीय सार्वजनिक शिक्षा हो । पछिल्ला वर्षहरूमा निजी विधालयतर्फको आकर्षण बढ्दै जाँदा सार्वजनिक शिक्षाप्रतिको विश्वास कमजोर हुँदै गएको देखिन्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका अझै पनि सामुदायिक विधालयमा निर्भर भएका छन । त्यसैले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नु सामाजिक न्यायको विषय पनि हो। विधालयमा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधिमा पहुँच तथा बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ। शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा नलिई जीवन उपयोगी सीप, नैतिकता, सिर्जनशीलता र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको छ । सामुदायिक विधालयको गुणस्तर उकास्न सके मात्र शिक्षामा रहेको असमानता घटाउन सकिन्छ भन्ने शिक्षाबिदको धारणा रहेको पाईन्छ ।
आजको समाजले सामना गरिरहेको अर्को गम्भीर समस्या लैङ्गिक हिंसा हो। घरेलु हिंसा, यौन हिंसा, कार्यस्थलमा हुने दुव्र्यवहार तथा विभिन्न प्रकारका विभेदले महिला तथा बालिकाको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ। हिंसामुक्त समाज निर्माण नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। स्थानीय सरकारले पीडितमैत्री सेवा, सुरक्षित उजुरी प्रणाली, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनस्र्थापना सेवाको व्यवस्था गर्नुपर्छ। पछिल्ला वर्षहरूमा नेपालमा आत्महत्याका घटनाहरू चिन्ताजनक रूपमा बढिरहेका छन्। किशोरकिशोरी, युवा तथा वयस्कहरू मानसिक तनाव, पारिवारिक समस्या, बेरोजगारी, सामाजिक दबाब तथा एक्लोपनका कारण आत्महत्यातर्फ धकेलिने गरेका छन्। दुर्भाग्यवश, मानसिक स्वास्थ्यको विषय अझै पनि खुला रूपमा छलफल हुने वातावरण पूर्ण रूपमा विकसित हुन सकेको छैन। हेटौडा उपमहानगरपालिकाले विधालय तथा समुदायस्तरमा मनोविमर्श सेवा विस्तार गर्नुपर्छ। विधालयहरूमा प्रशिक्षित परामर्शदाता, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम तथा संकटमा रहेका व्यक्तिहरूका लागि परामर्श सेवा उपलब्ध गराउन सक्नु पर्दछ । मानसिक स्वास्थ्यलाई स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा स्वीकार गर्न नसकिएसम्म आत्महत्या रोकथामका प्रयास प्रभावकारी हुन सक्दैनन्।
नागरिकको खुसी र सन्तुष्टि पनि समृद्धिको महत्वपूर्ण सूचक हो। विश्वका विकसित देशहरूले अब विकासलाई केवल आर्थिक सूचकबाट मात्र होइन, नागरिकको सुख, सन्तुष्टि र जीवनको गुणस्तरबाट मापन गर्न थालेका छन्। स्थानीय सरकारले पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्छ। नागरिकका गुनासा सुन्ने, सुझावलाई सम्मान गर्ने तथा निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउने अभ्यासले सरकारप्रतिको विश्वास बढाउँछ। सार्वजनिक पार्क, खुला क्षेत्र, खेलमैदान, सांस्कृतिक गतिविधि तथा मनोरञ्जनका अवसरले पनि नागरिकको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
डिजिटल युगसँगै साइबर अपराध पनि नयाँ चुनौतीका रूपमा देखा परेको छ। अनलाइन ठगी, साइबर बुलिङ, सामाजिक सञ्जालमार्फत हुने हिंसा, बालबालिकामाथिको अनलाइन शोषण तथा गोपनीयताको उल्लङ्घनका घटनाहरू बढिरहेका छन्। विशेष गरी किशोरकिशोरीहरू साइबर जोखिमको बढी सिकार बन्ने गरेका छन्। त्यसैले विधालयस्तरदेखि नै डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी शिक्षा दिन आवश्यक छ। स्थानीय सरकार, विधालय, अभिभावक र सुरक्षा निकायबीचको सहकार्यबाट साइबर अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकिन्छ।
समृद्ध हेटौडाको बहस गर्दा विगतका कमजोरीहरूबाट पनि सिक्नुपर्छ। कतिपय अवस्थामा नीति र कार्यक्रमहरू कागजमा सीमित हुने, अनुगमन कमजोर हुने, कमजोर सुशासन, नागरिक सहभागिता न्यून रहने तथा सामाजिक क्षेत्रका मुद्दाहरूलाई पर्याप्त प्राथमिकता नदिइने समस्या देखिएका थिए । विकासलाई केवल भौतिक संरचना निर्माणसँग जोडेर हेर्ने दृष्टिकोणले सामाजिक रूपान्तरणका पक्षहरू ओझेलमा परेका छन्। अबको विकास योजना परिणाममुखी, समावेशी तथा मानव केन्द्रित हुनु पर्दछ भन्ने आम धारणा रहेको पाईन्छ ।
वास्तवमा, समृद्ध हेटौडा भनेको केवल चौडा सडक, अग्ला भवन र आकर्षक संरचनाहरू भएको सहर होइन । समृद्ध हेटौडा भनेको त्यस्तो सहर हो जहाँ बालबालिका सुरक्षित छन्, किशोरीहरू विधालयमा छन्, महिलाहरू हिंसामुक्त जीवन बाँचिरहेका छन्, युवाहरू आशावादी छन्, नागरिकहरू मानसिक रूपमा स्वस्थ छन् र सबैले सम्मानपूर्वक जीवनयापन गर्न पाएका छन्। आर्थिक विकाससँगै सामाजिक न्याय, समानता, मानव अधिकार र नागरिक सुखलाई समान महत्व दिन सकियो भने मात्र समृद्धिको यात्रा दिगो बन्न सक्दछ ।
त्यसैले हेटौडा उपमहानगरपालिकाले अबको विकास रणनीतिमा बाल संरक्षण, बालविवाह अन्त्य, गुणस्तरीय सार्वजनिक शिक्षा, लैङ्गिक समानता, मानसिक स्वास्थ्य, साइबर सुरक्षा तथा नागरिक सन्तुष्टिलाई केन्द्रमा राख्नु पर्दछ भन्ने आम चासो र चिन्ताको बिषय बनेको छ । भौतिक पूर्वाधारसँगै सामाजिक पूर्वाधारमा लगानी बढाउने मार्गबाट मात्र समावेशी, सुरक्षित, न्यायपूर्ण र दिगो “समृद्ध हेटौडा” निर्माण सम्भव हुनेछ ।

(प्रकाश खतिवडा, बाल कल्याण समाज, मकवानपुर अध्यक्ष हुन्।)

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.