केही दिन लगातार पानी परेपछि मकवानपुरमा हरेक वर्ष देखिने दृश्य यसपटक पनि दोहोरियो। कतै सडकमा पहिरो खस्यो, कतै सडक भासियो। कतै विद्युतका पोल ढले भने कतै नदी र खोलाको छेउमा रहेका बस्ती जोखिममा परे। आइतबार बिहान जिल्लाका विभिन्न ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भए। हेटौँडा–१६ हटियामा १० वटा विद्युतका पोल ढले। मकवानपुरगढी–५ स्कुलडाँडामा दुई घर पूर्णरूपमा क्षति भए। हेटौँडा–११ थानाभर्याङस्थित बुद्ध पार्कमा पहिरोले क्षति पुर्यायो। पाथिभरा मन्दिर जाने बाटो जोखिममा पर्यो। केही महिनाअघि मात्रै बनाइएको कैलाश जाने सडकसमेत भासियो। यसपटक मानवीय क्षति भएन। स्कुलडाँडाका घरमा मानिस नबसेकाले दुई परिवार सुरक्षित रहे। समयमै मानिस सुरक्षित ठाउँमा सरेकाले सम्भावित दुर्घटना टरेको हो। यसले विपद्का बेला पूर्वसूचना र समयमै गरिने स्थानान्तरणको महत्वलाई देखाएको छ । मकवानपुरमा पहिरो खसेपछि सामान्यतया डोजर पुग्छ। सडकमा थुप्रिएको माटो, ढुंगा र लेदो हटाइन्छ। केही समयपछि सडक खुल्छ। सवारी चल्न थाल्छन् र जनजीवन सामान्य बन्छ। तर वर्षा नरोकिए त्यही ठाउँमा फेरि पहिरो जान सक्छ। हेटौँडा–भैँसे–भीमफेदी–सिस्नेरी –दक्षिणकाली सडकखण्डमा वर्षाका बेला विभिन्न ठाउँमा पहिरो जाने गरेको छ। इन्द्रसरोवर–२ किटनीमा सडक भासिएको छ। भीमफेदी–८ बगुवाखोला नजिक कान्तिलोकपथमा पहिरो आएको छ। हेटौँडा–१९ नेवारपानीमा पहिरो र ढुंगा खसेपछि पूर्वपश्चिम राजमार्गको आवागमन प्रभावित भएको छ। यी ठाउँमा डोजर पुगेर बाटो खुलाउनु आवश्यक छ। तर एउटै ठाउँमा पटकपटक पहिरो जाने हो भने माटो हटाएर मात्र समस्या समाधान हुँदैन। त्यहाँ सडक कसरी बनाइएको छ, पानीको निकास कस्तो छ र सडक आसपासको जमिनको अवस्था कस्तो छ भन्ने विषय पनि हेर्नुपर्छ। मकवानपुरमा सडक आवश्यक छ। सडक पुगेपछि गाउँका मानिसलाई बजार पुग्न सजिलो हुन्छ। बिरामीलाई अस्पताल लैजान सहज हुन्छ। विद्यार्थीलाई विद्यालय जान सजिलो हुन्छ। किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन सक्छन्। त्यसैले सडक विकास रोक्ने विषय होइन तर सडकलाई सुरक्षित र टिकाउ बनाउने विषय महत्वपूर्ण हो। सडक बनेको केही वर्षमै भासिने र हरेक वर्ष पहिरोका कारण बन्द हुने अवस्था आयो भने त्यसको निर्माण र डिजाइनबारे सोच्नुपर्ने हुन्छ। विकासको हिसाब गर्दा सडक कति किलोमिटर बन्यो र कति बजेट खर्च भयो भन्ने मात्र होइन, त्यो सडक कति सुरक्षित र दिगो छ भन्ने कुरा पनि हेर्नुपर्छ। हेटौँडा–११ को बुद्ध पार्कमा पहिरोले क्षति पुर्याएको घटनाले पनि विकास निर्माणमा ठाउँ छनोट र जोखिमको अध्ययनको महत्व देखाएको छ। नदी किनारमा पार्क वा अन्य संरचना बनाउनुअघि बाढी, कटान र पहिरोको सम्भावनालाई ध्यान दिनुपर्छ। जोखिम भएका ठाउँमा बस्ती विस्तार भइरहेका छन् भने स्थानीय तहले भूगोल र जोखिमको अवस्था हेरेर योजना बनाउन आवश्यक हुन्छ। विपद् आएपछि उद्धार गर्नु महत्वपूर्ण छ, तर जोखिममा रहेका मानिसलाई पहिले नै सुरक्षित बनाउनु अझ राम्रो उपाय हो। इन्द्रसरोवर ड्याममा पानीको अवस्थाबारे मोबाइलमा एसएमएसमार्फत सूचना पुग्नु सकारात्मक अभ्यास हो। यस्ता सूचना समयमै स्थानीय तह र जोखिममा रहेका समुदायसम्म पुग्न सके सम्भावित क्षति कम गर्न सकिन्छ।
विपद्का बेला जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह, सडक विभाग, विद्युत् प्राधिकरण र स्थानीय नागरिक सक्रिय हुन्छन्। पहिरो हटाउने, सडक खुलाउने, ढलेका पोल व्यवस्थापन गर्ने र मानिसको उद्धार गर्ने काम हुन्छ। यस्तो तत्कालको काम आवश्यक छ। तर विपद् व्यवस्थापनको काम वर्षा सुरु भएपछि मात्र गर्ने होइन। वर्षाअघि नै जोखिम भएका सडक र बस्ती पहिचान गर्ने, पानीको निकास सुधार्ने, कमजोर संरचना मर्मत गर्ने र जोखिममा रहेका मानिसलाई जानकारी दिने काम पनि सँगसँगै हुनुपर्छ। मकवानपुरमा वर्षेनी पहिरो जाने ठाउँको पहिचान गरेर स्थायी समाधानतर्फ जान आवश्यक छ। कतै सडकको संरचना सुधार्नुपर्ने हुन सक्छ, कतै पानीको निकास मिलाउनुपर्ने हुन्छ। कतै भिर संरक्षण गर्नुपर्ने हुन सक्छ भने कतै बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था आउन सक्छ। विपद् पूर्ण रूपमा रोक्न सकिँदैन तर त्यसबाट हुने क्षति कम गर्न सकिन्छ। त्यसका लागि विकास निर्माण र विपद् व्यवस्थापनलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्नु हुँदैन। हरेक वर्ष पहिरो जाने ठाउँमा डोजर पठाएर बाटो खुलाउनु तत्कालको समाधान हो। तर त्यही ठाउँमा फेरि पहिरो नजाने व्यवस्था गर्न सक्नु दीर्घकालीन समाधान हो।
प्रतिकृया दिनुहोस्








