यो बुढो रुख, त्यो बुढो रुख !

विश्वास पराजुली 

नेपाललाई वन तथा वनस्पतिको धनी देश भनिन्छ। यो भनाइ आफैँमा असत्य होइन। जता हेरे पनि हरियाली, विभिन्न प्रजाति, रङ र स्वरूपका रुखहरू देखिन्छन्। कतै रुख चौतारी बनेर शीतलता प्रदान गरिरहेका छन् त कतै अटल उभिएर सहारा दिइरहेका छन्। रुखको जीवनचक्र पनि आफैँमा एउटा कथा हो। बुट्यानबाट सुरु भएको यात्रा वयस्क हुँदै बुढो रुखसम्म पुग्छ। आज हामी यस्तै एउटा बुढो रुखको कुरा गर्दैछौँ। सामान्य बुझाइमा बुढो रुख भन्नाले अशक्त, कमजोर, विकासको गतिबाट पछि परेको र अरूको सहारामा मात्र उभिएको भन्ने अर्थ लाग्न सक्छ। तर हामीले बिर्सनु हुँदैन, त्यही बुढो रुखसँग खँदिलो इतिहास हुन्छ, समयका अनेकौँ अनुभव हुन्छन् र लाखौँ फलफूलमार्फत अरूको जीवनमा योगदान पुर्‍याएको कथा हुन्छ। वास्तवमा बुढो रुख कुनै एउटा उमेरको प्रतीक मात्र होइन, सम्पूर्ण विकासचक्रको अभिन्न र अकाट्य विम्ब हो।

तर समय सधैँ एकनास रहँदैन। विश्वव्यापी तापक्रम वृद्धि, बदलिँदो वातावरण र समयसँगै आउने अनेकौँ चुनौतीले प्रकृतिका पुराना सम्पदाहरूको अस्तित्वमाथि प्रश्न उठाइरहेका छन्। कहिले घामको ताप, कहिले हँसिया–हथौडाको चोट त कहिले घण्टीको कर्कश आवाज। यी सबैका बीच पनि ठिङ्ग उभिएको छ त्यो बुढो रुख।हो, अहिले त्यही रुख संकटमा छ। नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने यसको जगमा बीपी कोइरालाको विचार, संघर्ष र लोकतान्त्रिक चेतनाको ठूलो योगदान छ। प्रजातन्त्रको पक्षमा गरिएको त्यही वैचारिक वृक्षारोपणलाई विभिन्न कालखण्डमा नेतृत्वले मलजल गर्दै हुर्काउने प्रयास गर्‍यो। २००७ साल फागुन ७ गते राणाशासनको अन्त्यसँगै देशमा प्रजातन्त्रको नयाँ बिहानी सुरु भयो। जनताले स्वतन्त्रताको स्वच्छ हावामा सास फेर्ने अवसर पाए। तर त्यो यात्रा सहज थिएन। २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए। प्रजातन्त्रको कलिलो बिरुवामाथि प्रहार भयो। तर त्यो बिरुवा मरेन। संघर्षका अनेकौँ चरण पार गर्दै हुर्कियो र २०४६ सालमा पुनः देशलाई बहुदलीय प्रजातन्त्रको उज्यालोमा फर्काउन सफल भयो। त्यो वयस्क रुखले फेरि आफ्नो सामर्थ्य देखायो। हावाहुरी र आँधीबेहरीसँग जुध्दै जनताको अधिकारका पक्षमा आफूलाई उभ्याइरह्यो।

समयको अर्को कठोर परीक्षा २०६२/६३ को जनआन्दोलन थियो। जनताको त्याग, संघर्ष र बलिदानीपूर्ण आन्दोलनले मुलुकलाई गणतन्त्रको दिशामा अघि बढायो। त्यस आन्दोलनमा पनि नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रह्यो। जनताको आवाजसँगै उभिएको त्यही रुखले फेरि आफ्नो शक्ति प्रदर्शन गर्‍यो। यसले प्रमाणित गर्‍यो कि उसको सामर्थ्य केवल वयस्क अवस्थाको तेजमा मात्र सीमित थिएन, वर्षौँदेखि संघर्ष र विचारले गहिरो बनाएको जरामा पनि थियो।

तर विडम्बना के रह्यो भने, जनताको परिवर्तनको आकांक्षालाई पटक–पटक साथ दिएको त्यही रुख क्रमशः एउटै नेतृत्वको वरिपरि घुम्न थालेको आरोपबाट मुक्त हुन सकेन। नेपाली कांग्रेसको इतिहासमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालापछि लामो समय पार्टीको नेतृत्व र सत्ताको बागडोर सम्हाल्ने नेताका रूपमा शेरबहादुर देउवा स्थापित हुनुभयो। उहाँकै नेतृत्वकालमा कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो राजनीतिक उपस्थिति बलियो बनायो। तर नेतृत्वको कार्यशैली, वैचारिक स्पष्टता, संगठन सञ्चालन र पुस्तान्तरणको सवालमा पार्टीभित्र बहस पनि उत्तिकै चर्किंदै गयो।

२०७२ फागुनमा सम्पन्न १३औँ महाधिवेशनबाट रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बन्नुभएका देउवा पाँच पटक प्रधानमन्त्रीसमेत बन्नुभयो। उहाँको नेतृत्वमा पार्टीले सत्ता र संगठनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरे पनि समयअनुसार नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ पुस्तालाई जिम्मेवारी दिने विषयमा उठेका प्रश्नहरू भने निरन्तर रहिरहे। विस्तारै हराभरा देखिएको रुखभित्रै सुक्खापन बढ्न थालेको अनुभूति हुन थाल्यो। भदौ २३ गते देशमा नयाँ राजनीतिक लय सुनियो—जेनजी आन्दोलन। सामान्य असन्तुष्टिका रूपमा सुरु भएको युवापुस्ताको आवाज क्रमशः बुलन्द हुँदै विस्फोटमा परिणत भयो। राजनीतिक दल र नेतृत्वप्रति जनताको असन्तुष्टि सतहमा आयो। राजनीतिक संरक्षणमा भ्रष्टाचार, दण्डहीनता, असमानता र पहुँचका आधारमा अवसर बाँडिने प्रवृत्तिविरुद्ध आक्रोश चुलियो। चप्पल लगाएर राजनीतिमा प्रवेश गरेकाहरू रातारात महलमा पुगेको भाष्यले जनमानसमा ठाउँ पायो।त्यो आवाज माइतीघरबाट उठेर संसद् भवन हुँदै सिंहदरबारसम्म पुग्यो। भदौ २३ र २४ गतेका घटनाले देशलाई गम्भीर राजनीतिक संकटमा धकेल्यो। ठूलो मानवीय क्षति र हजारौँ घाइते भएको आन्दोलनले स्थापित राजनीतिक शक्तिहरूको आधारमाथि नै प्रश्न उठायो। अन्ततः सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र देशले नयाँ राजनीतिक मोड लियो। यस आन्दोलनले हाम्रो राजनीतिक रुखलाई पनि नराम्ररी झकझक्यायो। पार्टीभित्रै बुढो रुखको संज्ञा पाएको नेतृत्वमाथि बाहिरबाट पनि प्रश्नहरू उठ्न थाले। नयाँ पुस्ताले नयाँ बिरुवा रोप्नुपर्ने आवाज बुलन्द भयो। कतिपयले पुरानो रुखलाई काटेर नयाँ बिरुवा हुर्काउनुपर्ने तर्क गरे भने कतिपयले त्यसलाई इतिहास र योगदानको अवमूल्यनका रूपमा हेरे।

तर प्रश्न केवल पुरानो र नयाँको होइन। त्यो बुढो रुख पूर्ण रूपमा अशक्त पनि थिएन, न त पूर्ण रूपमा अनावश्यक। त्यसले इतिहास बोकेको थियो, संघर्षको विरासत बोकेको थियो र लोकतान्त्रिक आन्दोलनका उपलब्धिमा आफ्नो योगदान दिएको थियो। तर समयअनुसार त्यसको स्याहार, व्यवस्थापन र नेतृत्वको पुनर्संरचना आवश्यक भइसकेको थियो। यही परिवेशमा अर्को परिवर्तनको स्वर सुनियो—प्रतिरोपण। प्रतिरोपण भनौँ वा कलमी, जरा उही राखेर फल दिने हाँगा फेर्ने प्रयास। यसको प्रमुख योजनाकारका रूपमा गगनकुमार थापा अगाडि आउनुभयो। लामो समयदेखि पार्टीको नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठनमा नयाँ ऊर्जा भर्नुपर्ने आवाज उठाउँदै आउनुभएका थापाले अन्ततः विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको अभियानलाई निर्णायक मोडमा पुर्‍याउनुभयो। दोस्रो विशेष महाधिवेशनले उहाँको नेतृत्वलाई वैधानिकता प्रदान गर्‍यो। यो केवल नेतृत्व परिवर्तनको प्रयास थिएन, पार्टीको पुरानो संरचनाभित्र नयाँ ऊर्जा र नयाँ सोच स्थापित गर्ने प्रयत्न पनि थियो। तर प्रश्न उठ्छ-के नेतृत्व परिवर्तन हुँदैमा रुखले नयाँ फल दिन थाल्छ? कि त्यसका लागि जरादेखि हाँगासम्मै मलजल र व्यवस्थापन आवश्यक हुन्छ? २०७९ को निर्वाचनमा ८९ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस पछिल्लो राजनीतिक घटनाक्रममा ३८ सिटमा खुम्चिएको अवस्था छ। यो गिरावटलाई केवल चुनावी परिणामका रूपमा बुझेर पुग्दैन। यसले पार्टीप्रति जनताको बदलिँदो धारणा, नेतृत्वप्रतिको असन्तुष्टि र संगठनभित्रको कमजोरीलाई समेत संकेत गर्छ। आगामी निर्वाचनलाई ध्यानमा राखेर गगन थापाको नेतृत्वमा भएको परिवर्तनलाई पार्टीको पुनर्जागरणको प्रयासका रूपमा हेरिएको छ। यद्यपि पार्टीभित्रको असहमति र आन्तरिक चुनौतीहरू अझै बाँकी छन्। ८६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा रहेको अवस्थाले पनि कांग्रेसका लागि राजनीतिक प्रतिस्पर्धा सहज नभएको संकेत गर्छ।

अब अलिकति इतिहासतिर फर्कौँ। कुरा गरौँ महाभारतको।महाभारतको युद्ध किन भयो? यसको पछाडि राज्यको उत्तराधिकार विवाद, द्रौपदीको अपमान, दुर्योधनको हठ र अहंकार, शकुनीको षड्यन्त्र तथा धृतराष्ट्रको पुत्रमोहजस्ता प्रमुख कारण थिए। हस्तिनापुरको सिंहासन कसको हुने भन्ने विवादबाट सुरु भएको द्वन्द्व अन्ततः विनाशकारी युद्धमा परिणत भयो। पाण्डव र कौरवबीच राज्यको वास्तविक हकदार को हो भन्ने विषयमा विवाद चर्कियो। जुवामा पाण्डवहरूले राज्य गुमाएपछि द्रौपदीको अपमान गरियो। त्यस घटनाले प्रतिशोधको आगो झन् दन्कायो। भगवान् श्रीकृष्ण शान्तिदूत बनेर कौरव सभामा पुग्दा पाण्डवका लागि पाँच गाउँ मात्र मागिएको थियो। तर दुर्योधनले सियोको टुप्पो बराबर जमिन पनि नदिने अडान लिए। शकुनीको षड्यन्त्र र धृतराष्ट्रको पुत्रमोहले पनि युद्ध रोक्ने सम्भावनालाई कमजोर बनायो। अन्ततः अहंकार, स्वार्थ र सत्ता मोहले महाभारतको विनाशकारी युद्ध निम्त्यायो।

महाभारतको यो प्रसङ्गलाई आजको नेपाली राजनीतिक परिवेशसँग तुलना गरेर हेर्न सकिन्छ। गगन थापाको विद्रोह र पार्टीभित्रको नेतृत्व परिवर्तनको संघर्षलाई महाभारतका यी घटनासँग कति जोड्न सकिन्छ भन्ने कुरा पाठकको विवेक र विश्लेषणको विषय हो। तर एउटा कुरा स्पष्ट छ—जब नेतृत्वमा मोह, संगठनमा अहंकार र निर्णय प्रक्रियामा स्वार्थ हाबी हुन्छ, तब संस्थाहरूभित्र द्वन्द्व जन्मिन्छ। समयमै संवाद, सहमति र पुस्तान्तरणको बाटो नखोजिए त्यसको परिणाम संस्थाले नै भोग्नुपर्ने हुन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि रुखको मूल्य केवल त्यसको हरियालीमा मात्र हुँदैन, त्यसको जरामा पनि हुन्छ। त्यही जराले माटोलाई समातेको हुन्छ, वर्षौँका आँधीबेहरी सहेको हुन्छ र नयाँ पालुवालाई जन्म दिने आधार तयार गरेको हुन्छ। त्यसैले बुढो रुखले दिएका फल, छायाँ र सहारालाई बिर्सन मिल्दैन। तर पुरानो योगदानकै आधारमा सधैँ उही अवस्थामा रहनुपर्छ भन्ने पनि होइन। समयअनुसार काँटछाँट, मलजल र नयाँ हाँगाको विकास आवश्यक हुन्छ। आजको चुनौती भनेको पुरानो रुखको जरालाई जोगाउँदै नयाँ पालुवालाई हुर्काउनु हो। अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्नु हो। पुरानोलाई पूर्ण रूपमा अस्वीकार गरेर भविष्य निर्माण हुन सक्दैन भने पुरानै संरचनामा अडिएर नयाँ समयको नेतृत्व पनि गर्न सकिँदैन।त्यो बुढो रुख केवल एउटा राजनीतिक दलको प्रतीक होइन, इतिहास, संघर्ष र उपलब्धिको जीवित दस्तावेज हो। तर इतिहासको सम्मान गर्नु भनेको परिवर्तनलाई रोक्नु होइन। बरु इतिहासबाट सिक्दै भविष्यको बाटो खोल्नु हो। रुख पुरानो हुँदैमा त्यसको जरा कमजोर हुन्छ भन्ने छैन। तर जरा बलियो छ भन्दैमा नयाँ पालुवा उम्रन नदिने छुट पनि कसैलाई हुँदैन। पुरानो अनुभव र नयाँ सोचको समन्वयबाट मात्रै एउटा बलियो, हराभरा र जीवन्त राजनीतिक वन निर्माण हुन सक्छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.