के तपाई सामाजिक संजाल चलाउनु हुन्छ …? मनमा लागेको बिचार ख़ुलस्त सहीलाई सही र गलतलाई गलत भन्ने सामर्थ्य राख्नु हुन्छ ? उसो भए तैयार हुनुहोस ,पेट भरी खानलाई शब्दका भारीहरु …..हार्दिक श्रद्धान्जली !!!
हार्दिक श्रद्धान्जलीको अर्थ हो मृतक प्रती ग़हीरो भाबनात्मक सम्मानका साथ गरीने श्रद्धा र स्मरण । सामान्यतया यो शब्द मृत ब्यक्तिका प्रती आदर भावका साथ शोक सन्देश वा अन्तिम विदाई दिन प्रयोग गरिन्छ । तर आज भोली यो शब्द सामाजिक संजालमा तपाईका पेजभरि अरु कसैको कानले सुन्न न चाहेको शब्द लेख्दा वा बोल्दा पनी तपाईले सुन्न, हेर्न वा देख्न अनी सहन गर्न सक्नु पर्ने हुन्छ ।
भनिन्छ , राजनीति समाजको ऐना हो । राजनीति समाज वा राष्ट्र भित्र शक्ति, निर्णय र श्रोतहरुको व्यवस्थित बाड़फाड़ गर्ने प्रक्रिया हो । जसले विभिन्न विचारधारा न…
कम्युनिष्ट नेता जोसेफ स्टालिन को बिचार लाई फेरि एकपटक ध्यान दिएर हेर्ने हो भने उनले भनेका छन – “विचारहरू बन्दुकभन्दा बढी शक्तिशाली हुन्छन्। जसरी हामी हाम्रा शत्रुहरूलाई बन्दुक राख्न दिँदैनौं; त्यस्तै गरी हामीले उनीहरूलाई विचार राख्न पनि दिन हुदैन !!!” अर्का कम्युनिष्ट नेता माओत्सेतुङ का अनुसार “राजनीतिक शक्ति बन्दुकको नालबाट हुँदै निस्कन्छ !”यी भनाई बाट कम्युनिष्ट नेताहरुको वास्तबिक स्वरुपमा राजनितिक यात्रा देशको परिवर्तन र बिचारको लागी हैन केवल शक्ति र संघर्षको चिन्ता मा मात्र केन्द्रित थियो भन्ने कुराहरू छर्लंग हुन्छ । जसको थप जल्दोबल्दो उदाहरणको रुपमा बिश्वको शक्तिशाली प्रजातान्त्रिक देश अमेरिकाको छेवैमा रहेको कम्युनिष्टको शासन भएको देश क्युवा लाई हेर्न सकिन्छ । राजनितिमा सवैभन्दा महत्वपुर्ण स्थान बिचारको हुन्छ । तर कम्युनिष्ट दर्शन भित्र जनताको अधिकार ,बिचारको स्वतन्त्रता आदि विषयवस्तुको लागी कुनै स्थान हुदैन ।
प्रसंग हो माओबादी 10 वर्षको शसस्त्र द्वन्द्वकालीन अवस्थाको ,दश वर्ष भन्दा बढी हिंसात्मक द्वन्द्व गरेर जनतालाई पीडा को भुमरिमा धकेल्ने र सबै नागरिक बराबर हुन् भनेर बोल्ने माओबादी नेताहरु आफ्नो पारिवारिक मोहमा लुप्त भएर Every body are equal but -some are more equal भनेर आफु र आफ्नो सन्ततिलाई राज्यको मूख्य पदमा बिराजमान गराउनुको अलावा अन्य उपलब्धि देखिएन । त्यसबेला जनताको छोराछोरी पढ्ने स्कुलहरुमा कलमको हैन बन्दुकको आवाजहरु सुनिन थालेको थियो । नागरिकले पढ्ने शिक्षालाई बुर्जुवा शिक्षा भनेर स्कुल पढ्ने बिध्यार्थिको हातबाट कलम खोसेर बन्दुक थमाउदै जङलतिरको बाटो लगेको पीडा एउटा नागरिकले भुल्न सकेको छैन । बिहानै घर बाहिर गएको सन्तान साँझपख घर फर्केर आउछ की आउदैन भनेर दैलाको ठेलामा एउटी आमाले कयौ साँझ काटेको दिन सम्झँदै गर्दा आज पनि आङ सिरिङ्ग सिरिङ्ग हुन्छ । गाउमा बसेर दुई वटा लैना गाई पालेर दूध बेचेर परिवार र छोराछोरी पाल्नेलाई सामन्ती भनेर खोजी खोजी मारियो । देशका अधिकांश संरचना हरु ध्वस्त पारियो । बिकास र सम्भावना सबै ढोकाहरु बन्द भयो । युवा जनशक्ति हरु ज्यान जोगाउनको लागी र पारिवारिक शुरक्षाको लागी धमाधम विदेशिने क्रम बढ्न थाल्यो । आर्थिक उदारिकरणको मार्गतिर लम्कन लागेको देशले द्वन्द्वको चपेट्रा सहनु पर्यो । जनताको भबिश्य अन्धकार तिर धकेलियो ।
नेपालको कम्युनिष्ट हरुको ब्याकराउन्ड हेर्न हो भने त्यहाँ मूख्य दुई वटा शब्दहरू बोल्ने गरिन्छ । दलाल पुँजीवादी र अधिनायकबाद । जिवनभर भारतिय बिस्तार बाद र अमेरिकी साम्राज्यबाद्को रट्रा मारेर नेपाल र नेपाली जनताप्रति गैर जिम्मेवार रुपमा प्रस्तुत हुने कम्युनिष्ट नेताहरू को नव धनाद्यबादी स्वरुपको चर्चा गरी साध्य छैन । तत्कालीन अवस्थामा जाजरकोट जिल्लामा हैजा रोग फैलिएको विषयबारे बिबिसिले लिएको एउटा अन्तर्वार्तामा माओवादीकै एकजना नेताले भन्दै हुनुहुन्थ्यो की ,जब सम्म भारतिय विस्तार बाद र अमेरिकी साम्राज्यबाद नेपाल बाट जादैन त्यो बेला सम्म जाजरकोट बाट हैजा जादैन । यस्तो गैर जिम्मेवार पुर्ण प्रस्तुती थियो कम्युनिष्ट आन्दोलन को । तर ति दलाल र अधिनायकबादिहरु बास्तवमा को को थिए भनेर कही कतै कहिल्यै जनतालाई प्रष्ट पारेको देखिएन । सत्ता प्राप्तिको मोहमा हजारौं निर्दोष नागरिक र राष्ट्रसेवकको निर्मम तरिकाले घाँटी रेटीयो । आन्दोलनको नाममा दशौ वर्ष सम्म बन्दुकको नाल जनताको कञ्चट तिर मात्रै बर्जिरहे तर कहिल्यै ति दलाल र अधिनायक को को थिए भनेर चिनाउने कोशिस गरिएन ।
हिंसात्मक कार्यको प्रतिफल ब्यहोर्न गार्हो हुन्छ र कुनैपनि दिनमा जनताले द्वन्द्वकालीन अवस्थाको हिसाब किताब खोजे भने महँगो पर्दछ भनेर हो की सायद पछिल्लो समय माओवादी आन्दोलनका मूख्य कमान्डर कमरेड बाबुराम भट्टराई माओवादी बाट अलग्गै हुनु भयो । केहिदिन अगाडिको डा बाबुराम भट्टराईको एउटा अन्तर्वार्तामा “के बाबुराम भट्टराई घाँस खाने मानिस हो भनेर प्रचण्डजि प्रति लक्षित गर्र्दै प्रश्न गर्र्दै हुनुहुन्थ्यो की ,क्यानटरमेनको घोटाला भएलगत्तै मैले पाटि छोडेको हो ” । केहिदिन अघिको एउटा अन्तर्वार्तामा प्रकान्डजी घुमाउरो शब्दमा भन्दै हुनुहुन्थ्यो , जनयुध्दका नाममा गरिएका सबैजसो कुराहरू जायज थिएनन ….!! अर्थात यसको मतलव कतै माओबादी आन्दोलनकारी कमान्डर हरुले पालैपालो कान घुमाउरो गरी पक्रन खोज्नु भएको त हैन ?
सायद त्यही पदचापलाई पछ्याउँदै होकी माओबादी आन्दोलन का अर्का हस्ती कहिले वल्लो गाउँ कहिले पल्लो गाउँको आकाशमा देखिने बादलु जस्तै रंग फेरिरहने isकमरेड बादल पनि एमाले भित्र बिलिन हुनुभयो । देशको गृहमन्त्री जस्तो गरिमामय पद सम्हाली सक्नु भएको उहाँ एमालेमा समाहित मात्र हुनु भएन माओवादी ले 10 वर्ष गरेकोे द्वन्द्व जनयुध्द थिएन। त्यो केवल एउटा हिंसा थियो भनेर आजकल सार्वजनिक सभा समारोह तिर बोली रहनु भएको छ । सँगै सँगै आन्दोलनको नेतृत्व गरेका बैध विप्लव हरुले पनि अलग अलग बाटा समातेका छन । पछिल्लो समयको यी र यस्ता केही अभिव्यक्ति हरु हेर्दा बिगतमा ज्यानको बाजी थापेर आन्दोलन लागेका माओबादी नेताहरूले आत्म ज्ञान र चिन्तन प्रश्फुटन भएर यस्तो गल्ती स्वीकृत गर्नु भएको हो अथवा केवल राजनितिक दाउपेच मात्रै हो भन्ने प्रश्नहरु उठाउन थलिएको छ ।
भरतपुर चितवन निवासी माओबादी द्वन्द्व पीडित बिजय राज बिष्टजी भन्नु हुन्छ , मेरो बुवा लाई फरक राजनितिक आस्था भएकै कारणले उहाको निर्ममता पुर्वक हत्या गरियो ।भिन्न राजनीतिक आस्था राखेको आधारमा व्यक्ति हत्या गर्न पाइन्छ भनेर नेपालको कुन संविधानको धारा, उपधारा या अन्तर्राष्ट्रिय नियम कानुनमा उल्लेख गरिएको छ त कमरेड ? उहाँ थप प्रश्न गर्नु हुन्छ , हिंसात्मक युद्द को पीडादायी अवस्थामा रहेका हजारौं पीडित जन लाई कहिल्यै सान्त्वनाको शब्द खर्चिनु भएको छ ? तपाईं का हिम्स्रक युद्दले कति बेसहारा, अनाथ, विधवा र अपाङ्ग बने कहिल्यै हेक्का राख्नु भएको छ ? कथित जनयुध्दको नाममा सरकारी बिदा दिएर तामझामका साथ विजय उत्सव मनाउनु पर्द्छ भन्दा तपाईहरु लाई आत्मग्लानी हुँदैन कमरेड ? युध्दले तपाईंका परिवार र आसेपासेको जीवनस्तर त उकासियो तर हामी र हामी जस्ता पीडित ले के पाए ? माओवादीको हिस्रक गतिविधिले घरमा सुतिरहेका निहत्था हजारौं नागरिकको निर्ममता पू्र्वक हत्या गरियो अनि हत्या को केही वर्ष पछि गल्ती भयो भनेपछी ति पीडितको चोट घाउमा लागेको नून चुकको मूल्य चुक्ता गर्नु पर्दैन र कमरेड ?? तपाईंहरूले गल्तिको स्विकार गर्दा के पीडितले गुमाउनु परेको उसको परिवारको सदस्य फिर्ता पाउदछ ?
चितवन घर भएर हाल जापान निवासी माओबादी द्वन्द्वपीडित राजेन्द्र जम्मरकटेल भन्नु हुन्छ , हिजो सत्ता प्राप्तिको लागी द्वन्द्व बाट सफलता मिल्छ भनेर जुन मार्ग अपनाएर बिभिन्न हिंसात्मक घटना हरु घटाईयो त्यो सबै गलत थियो भनेर महशुस गर्नु सकारात्मक कुरा हो । हिजो हामिले र हाम्रो परिवार सहित समाजले जे जे भोग्नु पर्यो त्यो घाउ कुनै क्षतिपुर्ती दिएर पुरिने र भरिने सामान्य खालको घाउ हुँदै हैन । यो घाउको चोट जीवन पर्यन्त रहन्छ । भनिन्छ नि ,जव मानिस मृत्युको नजिक ,पुग्दछ उसले सत्य बोल्छ । आज राजनितिक दाउपेच लाई हेरेर भएपनी बादल र बाबुरामहरुले जसरी आत्मालोचना गरेका छन , मलाई आशा छ एकदिन द्वन्द्वकालीन नेतृत्व गर्नै कमरेड प्रचण्डजी हरुले पनि ईतिहासमा उनले गलत गरेकै थिए भनेर मृत्युवरण गर्नु भन्दा अगाडि सार्वजनिक रुपमा माफी माग्ने दिन पक्कै आउनेछ ।
हिंसात्मक गतिविधि र बन्दुकको नाल बाट हैन संसदीय ब्यबस्थामा जनतामाझ बाट निर्वाचित भएर पनि सत्तामा पुग्न सकिन्छ भन्नेकुरा हालै केही दलहरु र बालेन जस्ता युवाहरू निर्वाचित हुने कुरा बाट पनि प्रमाणित हुन्छ । केही समय अघि माओबादी लडाकुहरुको विषयबारे स्वयं पुष्पकमल दाहाल प्रचण्डजी ले नै ” हामी संग भएको माओबादी लडाकुको संख्या को बारेमा हामिले राज्य लाई झुक्याएर आज यो अवस्था प्राप्त गर्यौ ” भनेर स्विकार गर्नु भएको कयौ भिडियोहरु बाहिरिएको छ । 5000 मानिसहरू मारेको जिम्मा मैले लिन्छु भन्दै खुलेआम बोल्नु भएका पुर्व प्रधानमन्त्री पुष्पकमलजीले पनि माओबादी आन्दोलन जसले सत्र हज्जार भन्दा बढी निहत्था नेपाली नागरिकको अनाहकमा ज्यान लियो त्यो हिंसात्मक गतिविधि गलत थियो भनेर आगामी दिनमा आत्मालोचना गर्र्दै के सार्वजनिक रुपमा बोल्ने दिन आउला ………??? द्वन्द्वकालीन अवस्थामा पीडितका हज्जारौ प्रश्नहरुको उत्तर एकदिन पक्कै प्राप्त गर्नै छन भन्ने आशावादी हुँदै यसलाई समयको गर्वमा थाती राख्दै ति निर्दोष नागरिक जसले द्वन्द्वकालीन अवस्थामा ज्यान गुमाउनु भयो उहाँहरू को परिवारले यथोचित र न्यायोचित न्याय पाओस । सार्बभौम नागरिकले राज्यको अनुभूति गर्न पाउन । सत्य निरूपण तथा मेलमिलापको बिषयको छिटै टुङ्गो लागोस ।नागरिकका प्रति राज्य जिम्मेवार बनोस् र जनताले राहतको शास फेर्न पाओस ! शुभकामना !!!!!
-देवकी गौतम
चितवन
(गौतम नेपाली काङ्रेस बागमती प्रदेश सदस्य हुनुहुन्छ)










