हेटौंडा । सामाजिक अभियन्ता विशालराज महतले नेपाली राजनीतिमा देखिएको चरित्रगत अधोपतनकै कारण देशले अपेक्षित परिवर्तन हासिल गर्न नसकेको टिप्पणी गर्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएका छन्। उनले राजनीतिक दस्तावेज, घोषणापत्र वा नीतिगत कागजात मात्र परिवर्तनको आधार बन्न नसक्ने स्पष्टाउँदै “दस्तावेज होइन, चरित्रले परिवर्तन सम्भव बनाउँछ” भन्ने धारणा राखेका छन्।
महतका अनुसार आजका राजनीतिक दल र नेताहरूले जनताको विश्वास गुमाउनुका पछाडि नीतिगत कमजोरी भन्दा पनि नेतृत्वको नैतिक पतन नै प्रमुख कारण हो। उनले लेखेका छन्—पुराना नाङ्ला पसलहरू ग्राहक बढेको देखाएर ढोंग गरेजस्तै, धेरै राजनीतिक पात्रहरू बाहिरी आवरण र देखावटी व्यवहारकै भरमा जनतामाझ वैकल्पिक शक्ति दाबी गर्दै हिँडिरहेको अवस्था गम्भीर चिन्ताको विषय भएको छ।
उनी भन्छन्, “परिवर्तनको जरो कागजमा होइन—चरित्र, सोच र इमानमा रहेछ।”
उनका अनुसार इतिहासले पनि यही प्रमाणित गरेको छ कि उत्कृष्ट नीतिहरू कागजमा मात्रै सीमित हुँदा परिवर्तन सम्भव हुँदैन; त्यसलाई कार्यान्वयन गर्ने व्यक्तिको नैतिकता, दृष्टि र प्रतिबद्धता सुदृढ हुन आवश्यक छ।
महतले हालका राजनीतिक नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै अवसरवादी, मुखर रूपमा मात्र वैकल्पिक शक्ति दाबी गर्ने तर समाजको पीडा नबुझ्ने समूह राजनीतिको अगाडि देखिन थालेको आरोप लगाए। उनले वैकल्पिक राजनीतिका लागि पहिलो पूर्वशर्त नै वैकल्पिक चरित्रको निर्माण भएको उल्लेख गर्दै, “अंग्रेजी बोलेर, जिन्स ढल्काएर वा ठूलो भाषण दिएर वैकल्पिक राजनीति जन्मिँदैन,” भनेका छन्।
उनका अनुसार नेतृत्व पद होइन, मूल्य, अनुशासन र उत्तरदायित्वको आधारमा समाजलाई दिशा दिने क्षमता हो। तर आज राजनीतिक वेशभूषा ओढेर सार्वजनिक विश्वासको व्यापार गर्नेहरूको उपस्थितिले नै राजनीतिको मूल अर्थ विकृत भएको उनले बताएका छन्।
अन्त्यमा महतले लेखेका छन्, “परिवर्तन कागजमा होइन, मान्छेको सोचमा जन्मिन्छ। पार्टीको दस्तावेज होइन, नेताको चरित्रले समाजलाई दिशा दिन्छ।”
उनका अनुसार वास्तविक वैकल्पिक शक्ति बन्न नेतृत्वले सत्य, त्याग, सेवा र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नै पर्छ।









