हेटौंडा उपमहानगरपालिकाको डम्पिङ स्थलमा दोहोरिने आगलागीप्रति विरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिने आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शिता र असक्षम फोहोर व्यवस्थापन नीतिको परिणाम भएको भन्दै विरोध जनाइएको छ।

सामाजिक अभियन्ता तथा सामाजिक अभियानता तथा सेवा सहयोग र आवाजमा हामी संस्थाका अध्यक्ष विशालराज महतले आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस सार्वजनिक गर्दै डम्पिङ स्थलमा पटक–पटक लाग्ने आगलागीले स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्‍याइरहेको बताएका छन्।

उनका अनुसार डम्पिङ स्थलमा थुपारिएको फोहोरबाट निस्कने ग्यास र प्लास्टिकजन्य पदार्थमा लाग्ने आगोका कारण धुवाँ, दुर्गन्ध र विषालु ग्यासले वातावरण प्रदूषित भइरहेको छ। यसले श्वासप्रश्वाससम्बन्धी रोग, छाला तथा आँखाका समस्या बढ्नुका साथै बालबालिका र ज्येष्ठ नागरिकमा जटिल स्वास्थ्य समस्या देखिन थालेको उनले उल्लेख गरेका छन्।

महतले उपमहानगरपालिकाले हालसम्म फोहोरको जैविक र अजैविक वर्गीकरण गर्न नसक्नु, नियमित अनुगमन र आगलागी नियन्त्रण संयन्त्रको अभाव, तथा प्रभावित नागरिकप्रति उत्तरदायित्व नदेखाउनु संस्थागत असफलताको प्रमाण भएको आरोप लगाएका छन्।

उनले स्पष्ट मागहरू राख्दै डम्पिङ स्थलमा बारम्बार हुने आगलागीबारे छानबिन समिति गठन गर्न, वैज्ञानिक तथा दिगो फोहोर व्यवस्थापन प्रणाली तत्काल लागू गर्न, जैविक फोहोर प्रशोधन (कम्पोस्ट वा बायोग्यास) र रिसाइकल प्रक्रिया अनिवार्य बनाउन आग्रह गरेका छन्। साथै प्रभावित क्षेत्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

“यो फोहोरमा लागेको आगो मात्र होइन, लापरबाही शासन प्रणालीमा लागेको आगो हो,” महतले स्ट्याटसमा उल्लेख गरेका छन्। यदि यस्ता घटनालाई सामान्य भन्दै बेवास्ता गरिए चुप नलाग्ने चेतावनी दिँदै उनले सुनुवाइ नभए हेटौंडा उपमहानगरपालिका घेराउ गर्न पनि पछि नपर्ने बताएका छन्।

हेटौंडाको स्वच्छ वातावरण, जनस्वास्थ्य र भविष्य सुरक्षित गर्न तत्काल कदम चाल्नुपर्ने उनको माग छ। पटक–पटकको लापरबाहीप्रति कडा विरोध जनाउँदै नागरिकको स्वास्थ्यसँग खेलवाड सह्य नहुने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.