हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य रविन्द्र घिमिरेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजनीतिबाट स्वतन्त्र बस्ने घोषणा गरेका छन्। उनले हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समिति अध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन्।
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै घिमिरेले पार्टीभित्र पछिल्लो समय निष्ठा, सिद्धान्त र समाजवादभन्दा व्यक्तिवाद, धनवाद र नातावाद हावी हुँदै गएको आरोप लगाए।
वि.सं. २०५२ सालदेखि राजनीतिक यात्रामा सक्रिय रहेको बताउँदै उनले नेपाली कांग्रेसले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको आदर्श, त्याग र योगदानलाई बिर्सिँदै गएको दाबी गरे।
पार्टीभित्र इमानदार र निष्ठावान् कार्यकर्ताहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको तथा आफूले पटक–पटक सुधारका लागि सुझाव दिँदा पनि त्यसलाई बेवास्ता गरिएको घिमिरेको भनाइ छ। यस्तो अवस्थामा पार्टीमा रहिरहन आफूले उचित नठानेको उनले बताए।
घिमिरेले पार्टीको सिफारिसमा नियुक्त भएको हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समिति अध्यक्ष पदबाट पनि राजीनामा दिने घोषणा गरेका हुन्।








