हेटौंडा। नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूची प्रदेशगत विवादका कारण अन्तिम टुंगोमा पुग्न सकेको छैन। आवश्यकभन्दा बढी नाम सिफारिस भएपछि प्रदेश–प्रदेशबीच रस्साकस्सी बढेको हो।
निर्वाचन आयोगले तोकेको समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले प्राविधिक सूचीसहित मीन विश्वकर्मालाई आयोग पठाएको छ। पार्टीबाट टोकन लिइसकेपछि रातिसम्म पनि बन्दसूची बुझाउन सकिने भएकाले औपचारिक प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
पदाधिकारी कोटाबाट सहमहामन्त्री भिष्मराज आङ्देम्बेको नाम लगभग निश्चित भएको स्रोतको दाबी छ। आदिवासी जनजाति समूहबाट पूर्वमन्त्री रोमी गौचन, सेतेमान तामाङ र गोपालमानसिंह राजभण्डारी बन्दसूचीमा परेका छन्।
महिला समूहबाट उर्मिला थपलिया, प्रेमिका रानामगर, रुक्मिणी कोइराला, गोमा भट्टराई र देवकी गौतमको नाम समेटिएको छ। यसैगरी चलचित्र निर्देशक मीन भाम पनि समानुपातिक सूचीमा अटाएका छन्।
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानको नाम पनि कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा समावेश गरिएको छ। तर मधेश प्रदेशको भागबण्डामा विमलेन्द्र निधि, महेन्द्र यादव, फर्मुला मन्सुर, उमकान्त चौधरी र कृष्ण यादवबीच सहमति नजुट्दा विवाद यथावत् रहेको छ।
युवातर्फ प्रेमिका रानामगर र सेतेमान तामाङसँगै सोलुखुम्बुकी गीता गुरुङको नाम पनि बन्दसूचीमा राखिएको जनाइएको छ।










