हेटौंडा । हेटौंडा–१९ स्थित लेखपानीमा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई न्यानो कपडा (स्विटर) तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई आवश्यक न्यानो कपडा उपलब्ध गराउन नसकेको जानकारी पाएपछि हेटौंडाका युवा सुशान्त तिमल्सिना, अनिल बस्नेत, बासु दाहाल र अविनास दाहालले उक्त सहयोग गरेका हुन्। उनीहरू शुक्रबार करिब २० हजार रुपैयाँ बराबरको कापी-कलम र जाडोका स्विटर लिएर विद्यालय पुगेका थिए।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अत्यन्तै विपन्न परिवारबाट आएका भएको र केही विद्यार्थी खाली खुट्टा हिँडेर विद्यालय आउने अवस्था देखेपछि युवाहरू भावुक पनि बनेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह गोले, प्रधानाध्यापक कुमार सिंह गोले, शिक्षक तथा अभिभावकहरूको उपस्थिति थियो।
प्रधानाध्यापक गोलेले वडा ‘बालमैत्री’ घोषणा भएपनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको टिप्पणी गर्दै विद्यालयका आधारभूत आवश्यकताप्रति स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार पछिल्ला वर्ष केही सुधार भए पनि सडक, आवतजावत तथा आधारभूत सुविधामा अझै समस्या कायम छ।
सहयोग सामाग्री वितरणका क्रममा विद्यालयको वास्तविक अवस्था अवलोकन गरेपछि युवा बासु दाहालले थप १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै विद्यार्थीहरू भोकै विद्यालय आउने गरेको थाहा पाएपछि हेटौंडाका युवा व्यवसायी सुनिल गिरिले विद्यालयलाई २ बोरा चामल सहयोग गरेका छन्। विद्यालयमा बिहानको खानापछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताबारे थाहा पाएपछि उनले तत्काल सहयोग उपलब्ध गराएको जनाइएको छ।
स्थानीय युवा तथा समाजसेवीहरूले यस्तो सहयोगले विद्यार्थीहरूको पठन-पाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।










