हेटौँडा । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पदंशबाट मृत्यु भएको घटनाले अखिल नेपाल महिला संघ (समाजवादी)लाई स्तब्ध पारेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि कडा कारबाही र छाउपडी प्रथाको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
गत असार २८ गते राति आउजीलाई सुतिरहेका बेला सर्पले टोकेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
विज्ञप्तिमा भनिएको छ, “अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण नेपालमा महिनावारी भएका महिलाहरू अझै पनि स्वतःस्पुर्त वा परिवार र समुदायको दबाबमा परेर छाउगोठ बस्न बाध्य छन्।”
महिलाको समानताको हक संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको र छाउपडी प्रथालाई सर्वोच्च अदालतले २०६२ सालमै गैरकानुनी घोषणा गरिसकेको उल्लेख गर्दै संघले भनेको छ, “मुलुकी अपराध संहिता २०७४ ले पनि छाउपडीलाई अमानवीय र दण्डनीय कार्यको रूपमा परिभाषित गरेको छ। यति स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै यस्ता घटना दोहोरिनु राज्यका कार्यक्रम प्रभावकारी नभएको प्रमाण हो।”
संघले छाउपडीलाई महिला विरुद्धको गम्भीर हिंसा भन्दै यसको अन्त्यका लागि कडा कानुनी कार्यान्वयन र दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ। साथै छाउपडी लगायतका हानिकारक परम्पराहरू विरुद्ध व्यापक जनचेतना, शिक्षा र सामाजिक अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ।
संघकी अध्यक्ष मुनु सिग्देलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक परम्पराको नाममा स्वीकारिएको यस्तो संरचनात्मक विभेदलाई कुनै हालतमा निरन्तरता दिन सकिँदैन।”












