हेटौंडा । बकैया गाउँपालिका–७ मा स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत पाँचदिने बाख्रापालन तालिम आइतबारबाट सुरु भएको छ।
महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपाल, हेटौंडाको आयोजना तथा बकैया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपालकी कार्यकारी निर्देशक इन्दिरा न्यौपानेको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मानबहादुर सिन्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख होमकुमारी सन्जेलको समेत उपस्थिति थियो।
निम्न आयस्रोत भएका तथा बाख्रापालन व्यवसायमा संलग्न २५ जना स्थानीयको सहभागिता रहेको तालिममा बाख्रापालनसम्बन्धी व्यावसायिक ज्ञान, व्यवस्थापन तथा आयआर्जन वृद्धि गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
प्रशिक्षक भीमप्रसाद दाहाल पाँच दिनसम्म सहजीकरण गर्ने छन् ।








