हेटौँडा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले बुधबार तीनवटा कार्यक्रम आयोजना गरेको छ।
रास्वपा मकवानपुरको आयोजनामा मकवानपुरस्थित मनकामना मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरिएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश गौतम, रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
मन्दिर परिसरमा सरसफाइ गर्दै स्वच्छता र सामाजिक उत्तरदायित्वमा युवाको भूमिका महत्वपूर्ण रहेको सन्देश दिइएको रास्वपाकी नेतृ रमिला सापकोटाले जानकारी दिइन्।
यसैगरी पशुपति मन्दिर परिसरमा मानसिक स्वास्थ्य तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा युवामा बढ्दो मानसिक स्वास्थ्य समस्या तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणका विषयमा सचेतना फैलाउने उद्देश्यले छलफल तथा जानकारीमूलक गतिविधि गरिएको सापकोटाले बताइन्।
त्यस्तै पशुपति मन्दिर सभाहलमा कन्टेन्ट क्रिएसन तथा कविता वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपा मकवानपुर समितिको आयोजनामा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा मकवानपुरमा यी कार्यक्रम आयोजना गरिएको सापकोटाले जानकारी दिइन्।








