हृदयको गहिराइ

उनको हृदयको गहिरो सागरमा चुर्लुम्म डुबेँ म। इन्द्रेणीमा सामान्यतया हुने सातवटा रङ पनि उनको रूपलाई अभिव्यक्त गर्न फिक्का लाग्थे। आज फेरि बिहानीपख घामसँगै उदाए मेरा अनौठा रहरहरू।
बाटुला आँखाको हेराइ, त्यो न्यानो स्पर्श, सुमधुर ध्वनि र बदनको महकले मभित्र एउटा गहिरो आत्मीयता जगाएको थियो। लाग्थ्यो, हामी आज होइन, धेरै पहिलेबाटै सँगै थियौँ।
माघ महिनाको कुरा हो। बाहिर जति धेरै जाडो थियो, मेरो हृदयभित्र भने उति नै न्यानोपन बढ्दै जान्थ्यो। कस्तो लत लागेको थियो-जुनलाई नियालिरहने, अनि सुत्नुअघि म जस्तै छटपटाइरहेको बादल हेर्ने।
त्यो रात निद्राले मलाई छोडेर आफू मात्र निदाइरहेजस्तो लाग्यो। आकाशमा केही ताराहरू अझै चम्किरहेका थिए। जसरी उनलाई सम्झँदा एक्कासि मेरो मुहार चम्किन्थ्यो। जसोतसो त्यो रात निदाएँ।
भोलिपल्ट बिहानै म क्याम्पसतिर लागेँ। म वाणिज्य संकायमा कक्षा ११ अध्ययनरत विद्यार्थी थिएँ। क्याम्पस भर्खरै खुलेको थियो। त्यहाँ पढ्ने कसैलाई म चिन्दिनथेँ। त्यसैले मनमा छुट्टै उत्साह थियो-खोइ, आज कस्ता साथीहरूसँग भेट हुने हो?
कक्षाकोठा नजिकै पुगेर ढोकाबाहिरबाटै हेरेँ। सायद कोही ढोकानजिकै उभिएको थियो। त्यो व्यक्ति को होला? म अन्योलमा परेँ।
त्यसपछि जब उनी फर्किइन्, लाग्यो-खडेरीमा अचानक एउटा तिर्खाएको मान्छेले नदी भेटायो।
जुनजस्तो मुहार, त्यो पनि दागबिनाको। म के बोलूँ, के नबोलूँ? एउटी अनुपम सुन्दरी मेरो छेउमै उभिएकी थिइन्। मलाई होसै भएन, मेरा नयन उनकै मुहारमा टपक्कै टाँसिएछन्।
बिहानीको चिसो सिरेटोले उनको अनुहारलाई छोएर परेलीसम्म खसेका फरर उडेका केशहरूलाई मिलाउँदै थियो। सपक्क परेका उनका केश, मोतीझैँ चम्किरहेका नयनहरू र ती झिपिक–झिपिक गर्ने परेली… जसरी अँध्यारोमा झुनकिरी टिलपिल गर्छ।
आहा! कति प्रिय थिए ती आँखा! उनका ती दुई सुन्दर नानीहरू मैले आजसम्म भुलेको छैन।
उनको घर सायद यहीँ, हाइस्कुलनजिकै होला। उनको हिँडाइमा एउटा अनुपम स्वतन्त्रता थियो। मेरो मन अझै पनि उनलाई पछ्याइरहेको छ। उनीसँगै हराएर गएको त्यो मन आजसम्म फर्किएको छैन।
उनले मेरो मन्द मुस्कानको भानसम्म गरिनन्। चुपचाप, केही नभनी उनी कक्षाभित्र पसिन्। उनको त्यो मौन आजसम्म मेरो मनमा सुरिलो भाका बनेर गुञ्जिरहेको छ।जुन मैले सुन्न सक्दिनँ, केवल महसुस गर्न सक्छु।

मैले उनलाई त्यो दिन अन्तिम पटक भेटेँ।

तर त्यसपछि उनी मेरा सपनाहरूमा सधैँ आइरहिन्। कहिल्यै बोल्न नसकेका कुराहरू सपनामा भन्थेँ। कहिल्यै समात्न नसकेका उनका हात समाउँथेँ। उनको हाँसो सुन्थेँ, उनको साथमा हिँड्थेँ। वास्तविकतामा सम्भव नभएका भेटहरू सपनाले पूरा गरिदिन्थ्यो।
मेरो अनुमान थियो-उनी यो सेक्सनकी होइनन्। सायद क्याम्पसको पहिलो दिन भएकाले आफ्ना पुराना साथीहरूलाई भेट्न आएकी होलिन्।
म उनलाई मेरै बस्ने बेन्चको छेउमा देख्न चाहन्थेँ। उनका कुरा सुन्न चाहन्थेँ। एकपटक भए पनि परिचय गर्न चाहन्थेँ। तर कथाले त्यसको अनुमति दिएन।
ती सुन्दरीलाई क्याम्पसका सुन्दर–सुन्दर साथीहरूको प्रेम प्रस्ताव आउँदा रहेछन्। उनले चाहे तीमध्ये जोसुकैसँग हिँड्ने अवसर पाउन सक्थिन्। बेला–बेला उनको पछि लाग्नेहरूको ताँती नै देखिन्थ्यो। त्यसको एउटा उदाहरण मैले पनि कहिलेकाहीँ देखेको थिएँ। तर मेरो कथा त्यसभन्दा बिल्कुल फरक थियो। म उनलाई टाढाबाट हेर्थेँ। उनी मेरा लागि एउटा सुन्दर रहस्य थिइन्।जसको नाम थाहा थिएन, आवाज चिनेको थिएन, तर मनले भने आफ्नै ठानिसकेको थियो। आज पाँच वर्ष बितिसकेको छ।
स्कुलबाट दिनभरि जागिर गरेर फर्किएपछि अचानक मैले कलम समातेँ। मनमा प्रश्न उठ्यो-किन लेख्न बसेँ म?
सायद पाँच वर्षदेखि मनभित्र थन्किएको त्यो कथा आज शब्द खोजिरहेको थियो।
सायद त्यो अधुरो भेटलाई फेरि एकपटक सम्झन वमन लाग्यो।
सायद उनको मुहार अझै पनि मेरो स्मृतिमा उस्तै ताजा छ।
र सायद…
उनीसँगै हराएको मेरो मन अझै फर्किएको छैन।

सुजन विश्वकर्मा
हेटौँडा, मकवानपुर

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.