मनु बाख्रा चराउन जाँदै थिए। उनी लट्ठीले बाख्रा धपाउँदै उँभो लगाउँदै थिए। उनका सबै बाख्राहरू भीरको उकालो लागिसकेका थिए, तर उनलाई त्यसको पत्तै भएन। जीवनको उकाली–ओरालीले उनलाई धेरै थकाइसकेको थियो। बाख्राको भीडमा उनका रहरहरू पनि छरिँदै गए। बाख्राहरू त साँझ घर फर्कने बेला आफैँ भेला हुन्थे, “तर बाध्यताको लट्ठीले धपाइएका मनुका रहरहरू कहिल्यै फर्किएनन्।”
तसर्थ, उनले पर्खन भने छोडेका थिएनन्। उनलाई सधैँ लाग्थ्यो—अल्झिएका रहरहरूले फर्कने बाटो अझै बिर्सिएका छैनन्।
सबै साथीहरू हातमा कलम, काँधमा झोला र आँखामा सपना बोकेर विद्यालय जाने गर्थे। मनुचाहिँ सधैँ हातमा लट्ठी, काँधमा जिम्मेवारी र गहभरि आँसु बोकेर गोठालो जानुपर्थ्यो।
तपतप… चउरको छेउमा बसेर आँसु झार्दै बित्थे उनका दिनहरू। देउरालीमा झरी परेको बेला देखिने इन्द्रेणी साह्रै सुन्दर लाग्थ्यो। कहिलेकाहीँ त्यही इन्द्रेणीका रङहरूले नै मनुका भिजेका परेलीमा नयाँ–नयाँ सपनाहरू रङ्गाइदिन्थे।
मनु तिर्खाएको बेला पानीको मूलले उनको प्यास मेटिदिन्थ्यो। उनी थाकेको बेला डाँडावरपरका रूखहरूले छहारी दिन्थे। कहिलेकाहीँ उनलाई आफ्नै बाध्यता पनि रमाइलो लाग्थ्यो।
मनुको त्यो निश्छल स्वभाव देखेर स्वयं प्रकृतिले पनि उनीसँग दोस्ती गर्न चाह्यो। तर प्रकृतिले जसलाई साथी बनाउँछ, उसलाई पहिला एउटा सानो परीक्षा लिने गर्छ। त्यो परीक्षाको विषय हो—हाम्रो धैर्य।
हामी जति संयमित हुँदै जान्छौँ, प्रकृतिसँगको हाम्रो मित्रता त्यति नै गाढा हुँदै जान्छ। प्रकृतिलाई हामीले हतार गरेको मन पर्दैन।
मनु प्रकृतिको मिल्ने साथी भएर होला, उसले मनुलाई दिएको सबैभन्दा अनमोल उपहार थियो—धैर्य।
मनुका साथीहरू चिटिक्क परेर, सुकिला पोसाक लगाएर विद्यालय जाने गर्थे। तर मनु गोठालो जाँदा पनि एक हातमा लट्ठी र अर्को हातमा पुरानो किताब–कापी बोकेर जान्थे। त्यो देखेर उनका साथीहरू उनलाई जिस्काउँथे। सधैँ उनका फोहोर, च्यातिएका र टालेका कपडा देखेर हेप्थे।
साथीहरूले उनलाई खेल्न पनि बोलाउँदैनथे। आफूले जाने–बुझेका कुराहरू पनि सिकाउन मन पराउँदैनथे। तर मनुलाई राम्रोसँग थाहा थियो—थोपा–थोपा मिलेर नै समुद्र बन्छ।
उनी आफैँ सिक्थे। नजानेका कुराहरू आफैँ खोजेर बुझ्ने कोसिस गर्थे। उनका साथीहरू विद्यालयबाट फर्कंदा मनुले एक्लै पढिरहेको देखेर खिसी गर्थे। नमज्जासँग मनुको खिल्ली उडाउँथे।
दिपकलाई ठूलो दम्भ थियो—मनुले एक्लै पढेर केही सिक्न सक्दैन।
किनकि दिपक एक होनहार विद्यार्थी थिए। उनी सहरका ठूलाबडा शिक्षकहरूसँग पनि ट्युसन पढ्ने गर्थे। दिपकलाई लाग्थ्यो, “मेरो सिकाइ र बुझाइ मात्र राम्रो छ। मलाई पढाइलेखाइमा कसैले टक्कर दिन सक्दैन।”
मानिसलाई आफ्नै घमण्डबाहेक अरू कसैले बर्बाद गर्न सक्दैन। दिपक त्यसैको एक विशिष्ट उदाहरण थिए।
वार्षिक परीक्षा समाप्त भयो। विद्यालयमा नतिजा प्रकाशन हुने दिन आयो। पहिला–पहिला सधैँ परीक्षामा प्रथम आउने दिपक यसपटक भने सबैभन्दा पछाडि परे।
मनुले सबैलाई नतिजामा उछिन्दै प्रथम स्थान हासिल गरे।
आज मनु आफ्नै निरन्तरता र अथक मेहनतका कारण उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन्। उनले आफ्नो क्षमताभन्दा बढी विश्वास आफ्नो मेहनतमा राखेका थिए।
जसरी ढिलो–चाँडोको हतार नगरी हामी धैर्यपूर्वक अघि बढ्छौँ, बाटो त्यति नै छोटिँदै जान्छ। अन्ततः एक दिन हामी अवश्य आफ्नो गन्तव्यसम्म पुग्छौँ।
अँ, साँच्ची!
अहिले दिपकले पनि आफ्नो गल्ती महसुस गरिसकेका छन्। उनले पनि आजभोलि प्रकृतिको अनुपम नियम पालना गर्न थालेका छन्—धैर्य गर्ने, निरन्तर अघि बढ्ने र अरूलाई हेपेर होइन, आफूलाई सुधारेर अघि बढ्ने।








