हेटौँडा । बजाज अटोले नेपालमा चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल C2501 र C3503 सार्वजनिक गरेको छ। हेटौँडास्थित होराइजन अटो प्रालिमा सोमबार आयोजित कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा दुवै मोडल सार्वजनिक गरिएको हो।
कार्यक्रममा होराइजन अटोका सञ्चालक लालकाजी रत्न बज्राचार्यले विद्युतीय सवारी वातावरणमैत्री हुनुका साथै पेट्रोलको बढ्दो मूल्यका कारण उपभोक्तामाथि परेको भार कम गर्न सहयोग पुग्ने बताए। उनले हेटौँडामा दुई दशकदेखि बजाजका सवारी बिक्री तथा सेवा दिँदै आएको उल्लेख गर्दै नयाँ चेतकले पनि ग्राहकको विश्वास कायम राख्ने अपेक्षा व्यक्त गरे।
कम्पनीका अनुसार C2501 मा २.५ किलोवाट आवरको लिथियम–आयन ब्याट्री रहेको छ। यसले एकपटक चार्ज गर्दा ११३ किलोमिटरसम्म यात्रा गर्न सक्ने र अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ। यसको मूल्य २ लाख ८१ हजार ८ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै C3503 मा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ। यसले एकपटक चार्जमा १५१ किलोमिटरसम्म रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टासम्मको गति दिने कम्पनीले जनाएको छ। यसको मूल्य ३ लाख ३८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
C2501 मा ब्लुटुथ कनेक्टिभिटी, रिभर्स मोड र २५ लिटरको स्टोरेज सुविधा छ भने C3503 मा डिजिटल डिस्प्ले, कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ।
लन्च कार्यक्रममा हंसराज हुलासचन्दका महाप्रबन्धक रामेश्वर घिमिरेले नयाँ मोडल थपिएसँगै नेपालमा हरित मोबिलिटी विस्तारमा बजाजको यात्रा थप अघि बढेको बताए। कम्पनीका अनुसार दुवै स्कुटर नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध छन्।








