रसुवा बाढी; मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन, ५ जनाको मृत्यु पुष्टि

हेटौँडा । रसुवा जिल्लामा भदौ १० गते आएको बाढीपछि मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। शनिबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार बाढीमा परी ५ जनाको मृत्यु पुष्टि भएको छ भने ६ जना सुरुङमा फसेको र ६ जनाको उद्धार गरिएको प्रशासनको अपडेटमा उल्लेख छ।

प्रशासनका अनुसार रसुवा घटनापछि मकवानपुरबाट सम्पर्कविहीन भएका व्यक्तिहरूमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा विभिन्न गाउँपालिकाका बासिन्दा रहेका छन्। उनीहरूमध्ये सवारी चालक, गोसाइँकुण्ड तीर्थयात्री तथा रसुवामा व्यवसाय र विभिन्न परियोजनामा कार्यरत व्यक्तिहरू समेत छन्।

हालसम्म सनाखत भएका मृतकमा हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१२ का विकास गोले, हेटौँडा–१५ का रमेश मगर र थाहा नगरपालिकाका राजकुमार आले मगर रहेका छन्।

यस्तै प्रशासनले सार्वजनिक गरेको विवरणमा सुरुङमा फसेका भनिएका ६ जनाको पनि जानकारी समेटिएको छ। हाकुबेंसी, रसुवामा केही व्यक्ति सुरुङमा फसेको र उनीहरूमध्ये केहीको नेपाली सेनाले उद्धार गरेको जानकारी प्रशासनले सार्वजनिक गरेको छ। अन्य सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रशासनको पछिल्लो विवरणअनुसार मकवानपुरका ६ जना रसुवा घटनामा उद्धार भएका छन्। उनीहरूलाई रसुवाबाट उद्धार गरिएको विवरणमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.