बाढीमा अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने बागमती सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीका अनुसार बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा शिक्षामा निरन्तरता सुनिश्चित गर्ने निर्णय गरिएको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। यसअघि प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्था थियो।
विपद्का समयमा रकम परिचालन तथा खर्च गर्न प्रक्रिया झन्झटिलो हुने भएकाले कार्यविधि संशोधन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताउनुभयो ।

संशोधित व्यवस्थाअनुसार अब आवश्यकता हेरी विपद् व्यवस्थापनका लागि जिल्ला तथा स्थानीय तहमा नै रकम पठाउन सकिनेछ। यसबाट विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सहज हुने सरकारको विश्वास छ।

बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.