राष्ट्रिय बाल दिवसमा मकवानपुरभर विविध कार्यक्रम

हेटौँडा । राष्ट्रिय बाल दिवसको अवसरमा मकवानपुरका विभिन्न स्थानीय तह तथा विद्यालयमा बालबालिकाको अधिकार, संरक्षण र सिर्जनात्मक क्षमता विकासमा केन्द्रित विविध कार्यक्रम सम्पन्न भएका छन्।

सविन नेपाल (सीडब्लुआईएन–नेपाल) को सहयोग तथा समन्वयमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका विभिन्न वडामा हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला, अभिमुखीकरण, अतिरिक्त क्रियाकलाप तथा खेलकुदलगायतका कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बालबालिकाको हक, अधिकार, संरक्षण तथा सिर्जनात्मक क्षमताको विकासलाई प्राथमिकता दिइएको थियो।

हेटौँडा–२ मा हाजिरीजवाफ प्रतियोगिता

हेटौँडा उपमहानगरपालिका–२ लालझाडीस्थित श्री बाराही आधारभूत विद्यालयमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बाराही बाल समूहको आयोजनामा भएको प्रतियोगितामा विद्यालयका चार सदनबाट विद्यार्थी सहभागी भएका थिए।

कञ्चनजंघा, माछापुच्छ्रे, अन्नपूर्ण र सगरमाथा सदनबीच भएको प्रतियोगितामा कञ्चनजंघा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय, सगरमाथा सदन तृतीय र माछापुच्छ्रे सदन चौथो भएका थिए।

हेटौँडा–१९ मा बाल अधिकारसम्बन्धी अभिमुखीकरण

हेटौँडा–१९ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा आत्महत्या न्यूनीकरण, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालश्रम, बालविवाह, बालअधिकार तथा बाल हेल्पलाइन १०९८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा बाल सञ्जाल र विद्यालय बाल समूहको आयोजना तथा सविन नेपाल मकवानपुरको सहयोगमा भएको कार्यक्रममा ३२ जना बालबालिकाको सहभागिता थियो। कार्यक्रममा बालबालिकालाई आत्महत्या न्यूनीकरण, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा बालविवाह, बालश्रम र बालअधिकारसम्बन्धी विषयमा जानकारी दिइएको थियो। सहभागी बालबालिकामध्ये एक बालक र एक बालिकाले आफूले तयार पारेको सिकाइ प्रस्तुत गरेका थिए भने अन्त्यमा सहभागी सबैलाई खाजा वितरण गरिएको थियो।

हेटौँडा–३ मा वक्तृत्वकला प्रतियोगिता

हेटौँडा–३ लेवटस्थित श्री बाल उज्ज्वल माध्यमिक विद्यालयमा ‘बाल अधिकार पाऊँ, कर्तव्य नभिऊँ’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सविन नेपाल, वडा बाल सञ्जाल वडा नं. ३ र बाल उज्ज्वल बाल समूहको आयोजना तथा विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा २३ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए भने करिब ३०० जना विद्यार्थी दर्शकका रूपमा सहभागी भएका थिए।

प्रतियोगितामा युनिशा स्याङ्तान प्रथम, मनिषा खड्का द्वितीय, प्रशंसा तामाङ तृतीय र महिमा तामाङ चौथो भएका थिए। उत्कृष्ट प्रस्तुति गरेका बालबालिकालाई शिक्षकहरूले व्यक्तिगततर्फबाट थप पुरस्कारसमेत प्रदान गरेका थिए।

मनहरी–२ मा अतिरिक्त क्रियाकलाप तथा खेलकुद

मनहरी गाउँपालिका–२ चकरीस्थित श्री परशुराम माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ। वडा बाल सञ्जाल, सविन नेपाल तथा विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर लटौला, अभिभावक–शिक्षक संघ अध्यक्ष राजु कुँवर, प्रधानाध्यापक गान्दुरी चौलागाईं तथा सविन नेपालका सामाजिक परिचालक रामगोपाल पराजुलीलगायतको सहभागिता थियो।

विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा पुरस्कृत गरिएको थियो।

मनहरी–३ मा वक्तृत्वकला

मनहरी गाउँपालिका–३ स्थित श्री पूजा माध्यमिक विद्यालयमा ‘अधिकार पाऊँ, कर्तव्य नभिऊँ, बालमैत्री समाज बनाऔँ’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सविन नेपाल र वडा बाल सञ्जालको आयोजना तथा वडा नं. ३ र विद्यालयको समन्वयमा भएको प्रतियोगितामा पाँच जना छात्राले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा युनिशा स्याङ्तान प्रथम, मनिषा खड्का द्वितीय, प्रशंसा तामाङ तृतीय र महिमा तामाङ चौथो भएका थिए।

हेटौँडा–१० मा वक्तृत्वकला तथा चित्रकला

राष्ट्रिय बाल दिवसको अवसरमा हेटौँडा–१० स्थित श्री जुन्नान्दा माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालय र जुन्नान्दा बाल समूहको आयोजना तथा सविन नेपाल र हेटौँडा–१० वडा बाल सञ्जालको समन्वयमा भएको कार्यक्रममा वक्तृत्वकलातर्फ २५ जना र चित्रकलातर्फ १५ जना बालबालिकाको सहभागिता थियो।

प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकालाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

मनहरी–७, ५ र ९ मा पनि कार्यक्रम

मनहरी गाउँपालिकाका विभिन्न वडामा समेत राष्ट्रिय बाल दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ।

मनहरी–७ स्थित श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा ‘विपद्मा बालबालिका र बाल अधिकार’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा चार विद्यालयका बालक र बालिका गरी आठ जना सहभागी थिए।

त्यस्तै, मनहरी–५ स्थित श्री भोजसिद्ध माध्यमिक विद्यालयमा प्राथमिक तहका बालबालिकाका लागि प्रश्नोत्तर (क्विज) प्रतियोगिता आयोजना गरिएको छ। वडा बाल क्लब र वडा कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। मनहरी–९ मा पनि सविन नेपाल (सीडब्लुआईएन–नेपाल) र वडा बाल क्लबको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।

राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रमहरूले बालबालिकालाई आफ्नो अधिकारबारे सचेत गराउँदै उनीहरूको प्रतिभा, क्षमता र सिर्जनशीलता प्रस्फुटन गर्ने अवसर प्रदान गरेको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.